बागमती प्रदेश सभाका सभामुख पाठकद्वारा राजीनामा

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

बागमती प्रदेश सभाका प्रदेश सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट राजीनामा दिनुभएको छ । जेनजी (नयाँ पुस्ता) को आन्दोलन र विकसित पछिल्लो घटनाक्रमपछि सभामुख पाठकले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सभामुख पाठकले परिवर्तनका लागि युवाले गरेको आन्दोलनका क्रममा देशमा ठुला धनजनको क्षति भएकोले पदमा बस्ने अवस्था नरहेकाले राजीनामा दिएको बताए  ।

उनले प्रदेशका संरचनाहरु पनि ध्वस्त भएको र काम गर्न सक्ने अवस्था पनि नभएकाले पदबाट राजीनामा दिएको जानकारी दिए  । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुले सामूहिक राजीनामा दिँदै संसदबाट बाहिरिने निर्णय गरेसँगै सभामुख पाठकले पदबाट राजीनामाको घोषणा गरेका हुन्।

उनले बागमती प्रदेश सभामुखको सचिवालयको सामाजिक सञ्जाल फेसबुक पेजमा समेत राजीनामा दिएको पोष्ट गरेका छन्  । फेसबुक पेजमा उनले गह्रौँ तर दृढ मनले, मैले बागमती प्रदेश सभाको सभामुखको पदबाट राजीनामा दिने निर्णय गरेको उल्लेख गरे  ।

देश अहिले ऐतिहासिक मोडमा उभिएको छ, हाम्रो नयाँ पुस्ता (जेन—जेड) ले साहस, स्पष्टता र दृढ विश्वासका साथ परिवर्तनको स्वर बुलन्द गरेका छन् उनले भने , उनीहरूको आवाज केवल आन्दोलन मात्र होइन, विवेकको क्रान्ति हो, जसले हामीलाई न्याय, पारदर्शिता र समानताको बाटोमा हिँड्न स्मरण गराइरहेको छ ।

सभामुखको हैसियतमा मैले सधैं लोकतन्त्र र सभाको गरिमा जोगाउन प्रयास गरेँ । तर यस घडीमा, नयाँ पुस्ताको न्यायोचित आकांक्षासँग ऐक्यबद्धता जनाउनु नै मेरो पहिलो दायित्व ठान्छु, उनले अगाडि भनेका छन्, नेतृत्वको अर्थ केवल कुर्सी सम्हाल्नु मात्र होइन, जनताको धड्कन सुन्नु पनि हो—विशेषगरी हाम्रो भविष्यलाई नेतृत्व गर्ने युवापुस्ताको ।

म विश्वस्त छु, यो पुस्ता इतिहासमा आफ्नो दृष्टि, साहस र अटल प्रतिबद्धताका कारण अमर हुनेछ । मेरो राजीनामा उनीहरूको संघर्षप्रति सम्मान र भविष्य निर्माणतर्फ सानो योगदान हो । उनले सचिवालयको सामाजिक सञ्जालको पेजमा लेखेका छन् ।

उनले यस कार्यकालमा म प्रति देखाइएको विश्वास सहयोगका लागि आभार व्यक्त गर्दै प्रदेश सभाले समयको माग अनुसार सत्यनिष्ठा र जिम्मेवारीसहित अघि बढोस् भन्ने शुभेच्छासमेत व्यक्त गरेका छन् ।

सभामुखले उपसभामुख समक्ष पदबाट राजीनामा दिने व्यवस्था रहेको छ । उपसभामुख अप्सरा चापागाईँले सभामुख पाठकले अनौपचारिक रुपमा राजीनामा दिने जानकारी गराए पनि औपचारिक रुपमा आफूसमक्ष राजीनामा पत्र नआएको जानकारी दिइन  । उता सभामुख पाठकले अब हेटौँडा पुगेर औपचारिक रुपमा राजीनामा दिने बताए  ।

११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा सभामुख पाठकसहित १३ जना सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *