दर्ताका लागि मेटाबाट औपचारिक जानकारी आएको छैन : सञ्चार मन्त्रालय

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुकको सञ्चालक संस्था मेटा दर्ताका लागि औपचारिक प्रक्रियामा नआएको बताएको छ।सञ्चार मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले हालसम्म मेटा कम्पनी दर्ता प्रक्रियाका लागि औपचारिक रुपमा सम्पर्कमा नआएको जानकारी दिए ।

उनले भने , “औपचारिकरुपमा सरकारको इमेलमा आएको भए वा त्यहाँ माग गरेको भए एउटा कुरा हुन्थ्यो। उहाँहरुलाई आवश्यक डकुमेन्ट के के चाहिन्छ त्यो त अलरेडी हाम्रो वेबसाइडमा छ।”

सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय हुन्छन्: मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आजसम्म सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय हुने बताएका छन्।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पत्रकारहरुसँग कुरा गर्दै मन्त्री गुरुङले सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको बताए ।

सर्वोच्च अदालतले प्रधानन्यायाधीशसहितको बृहत पूर्ण इजलासले अदालतको अपहेलना सम्बन्धी मुद्दामा २०८० वैशाख १२ मा स्वदेशी तथा विदेशी उत्पतिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सञ्चालन पूर्व अनिवार्य सम्बन्धित निकायमा सूचीकरण गर्न नेपाल सरकारको नाममा आदेश दिएको थियो।

उक्त आदेश पालना गर्दै मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्ने इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले सूचीकृत हुन आव्हान गरेको थियो।नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्न बनेको निर्देशिका२०८० बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो प्लेटफर्मको सूचीकरणका लागि सोही निर्देशिकाका अनुसूची १ बमोजिमको ढाचाँमा तोकिएको कागजातहरु संलग्न गरी ७ दिनभित्र निवेदन दिन भनेको थियो।

मन्त्रालयले निवेदन दिँदा इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी, स्वनियम परिपालनको निगरानी अधिकारीसमेत तोक्ने सार्वजनिक सूचना प्रकाशन गरिएको थियो।मन्त्री गुरुङले भने, “तोकिएको समयभित्र सूचीकृत गर्न नआउने सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेको क्षणदेखि पुनःसक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ।”

मन्त्री गुरुङले करिब २५ वटा सामाजिक सञ्जाल सूचीकृत हुन आउनुपर्ने र सूचीकृत गर्नका लागि कुनै पनि खर्च नलाग्ने बताउदै  अदालतले  सबै सामाजिक सञ्जालहरु सञ्चार मन्त्रालयमा दर्ता हुनुपर्ने र दर्ता भएर सञ्चालन दर्ता हुन नआएमा गैरकानुनीरुपमा सञ्चालन हुन नदिन भनेको छ।

सात दिनभित्र दर्ता गर्न आउनु भनेका थियौँ, त्यो मिति आजसम्म थियो, आजकै मितिदेखि सामाजिक सञ्जाल निष्क्रिय गराउँछौँ”, मन्त्री गुरुङले भने , “मुलुकमा कर तिरेको छ कि छैन भनेर सूचीकृत गर्न खोजेको होइन, सामाजिक सञ्जालका कारण भएको अपराधीकरण, सामाजिक सांस्कृतिक क्षेत्रमा खलल पार्ने खालको काम गरेको छ, पैसा तिर्ने कुरा आएको छैन।” औपचारिकरुपमा मेटा लगायत नेपालमा दर्ता नभएका कुनै पनि सामाजिल सञ्जाल दर्ता प्रक्रियाका लागि नआएको उनले प्रष्ट पारे ।

एनसेलले बन्द गर्‍यो सामाजिक सञ्जाल

एनसेल आजियाटा लिमिटेडले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको जानकारी दिएको छ । एनसेलले आज साँझ सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम दिइएको निर्देशन बमोजिम उक्त प्लेटफर्म बन्द गरिएको बताएको छ ।

टिकटक, भाइबर लगायत अन्य दर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्म भने चलाउन सकिने एनसेलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *