वर्षा भएसँगै धान रोपाइँमा जुटे मधेशका किसान

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

धेरै दिनको प्रतिक्षापछि सुरु भएको वर्षासँगै मधेश प्रदेशका किसान धान रोपाइँमा जुटेका छन्। लामो समयको खडेरीले सुक्खा भएको खेतमा हिल्याउन पुग्ने वर्षा भएपछि किसान धान रोपाइँमा जुटेका हुन्। गएकाे शुक्रबारदेखि दिनहुँ प्रदेशका सबैजसो स्थानमा वर्षा भइरहेको छ।

धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतोले लामो खडेरीपछि आएको वर्षाले खेतीमा ज्यान फर्काएको बताउदै भने  ‘जेठ र असार महिनामा पर्याप्त वर्षा नभएकाले धान रोपाइँमा गम्भीर असर परेको थियो। कसैले डिप बोरिङको सहायताले रोपाइँ गरेको भएपनि चर्को घामका कारण बिरुवा सुक्न थालेका थिए। तर हालको वर्षाले बालीलाई नयाँ जीवन दिएको छ।’

महतोका अनुसार पछिल्लो वर्षा किसान र धानबालीका लागि अमृत समान बनेको छ। सिँचाइ अभावमा रोपिएको बाली सुक्ने अवस्था पुगेको थियो भने त्यससँगै किसानको मिहिनेत खेर जाने अवस्था आइपुगेको थियो। अहिलेको वर्षाले सबथोक बचाएको किसान महतोको भनाइ छ।

ढल्केबरका अर्का कृषक रामएकवाल यादवले वर्षाले किसान उत्साहित देखिएको बताउदै भने , ‘जेठको पहिलो सातापछि वर्षा नहुँदा रोपाइँ रोकिएको मात्र होइन रोपिएको धान पनि सुक्न थालेको थियो।’  वर्षासँगै किसान धान रोपाइँमा व्यस्त भएका छन्।

वर्षा नहुँदा मधेश प्रदेशमा धान रोपाइँ प्रभावित हुने अवस्था देखेपछि प्रदेश सरकारले मधेशलाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गरेको थियो भने सङ्घीय सरकारले तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्रको रूपमा सूचीकृत गरेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालका अनुसार पछिल्ला दिनमा मधेशका सबै जिल्लामा वर्षा भएको छ।

उनले प्रदेशका सबैजसो स्थानमा वर्षा भएकाले रोपाइँको गति बढेको असारको सुरूवातदेखि पानी नपरेकोले बिरुवा र बेर्ना दुवै सुक्न थालेका थिए। अहिलेको वर्षाले ती सबैलाई बचाउने बताए ।

कृषि विकास निर्देशनालयका तथ्याङ्कअनुसार मधेश प्रदेशमा कुल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने जमिन छ। साउन १६ गतेसम्म दुई लाख १३ हजार ४३८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।  जुन कुल क्षेत्रफलको ५७ प्रतिशत हो।

सचिव दाहालले अब रोपाइँ क्षेत्रमा वृद्धि हुने बताउदै भने पानी पर्ने क्रम कायम रहेकाले साउन महिना भित्रै बाँकी खेतमा पनि रोपाइँ सकिने छ। ढिलो भए पनि योे वर्षाले मधेशका किसान उत्साहित देखिएको  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *