विधिपूर्वक पार्टी सदस्यता नवीकरण गरेकी छु : पूर्व उपाध्यक्ष भण्डारी,संकटमा एमाले

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

पूर्व राष्ट्रपति एवम् नेकपा (एमाले) का पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूले विधिपूर्वक पार्टी सदस्यता नवीकरण गरेको बताएकी छन् । शुक्रबार दिउँसो काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पूर्व राष्ट्रपति भण्डारीले राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति बारेमा अध्ययन तथा चिन्तन गर्दैआएको बताइन् ।

उनले भनिन्  “राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति बारेमा अध्ययन तथा चिन्तन–मनन् गर्दैआएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराउने कुरा गर्दैआएको थिएँ । जब म पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगें तब, मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरें ।”

उनले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेकोले यो विवादमा पार्नुपर्ने विषय नभएको बताउदै  यस विषयमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीबिच पार्टी केन्द्रीय कार्यालयमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताइन् ।

उनले भनिन , “मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिसम्मत ढङ्गले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आबद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको थिएँ  । यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको कुरा पार्टीले गरेका निर्णयहरुबारे जारी गरेको विज्ञप्तिबाट थाहा पाएँ । वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन ।”

नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रुपमा प्रत्याभूत गरेको उल्लेख गर्दै  उनले संविधानका धारा, मर्म र भावना अनुसार कहीँ कतैबाट आफू दलमा आबद्ध भएर राजनीतिमा सङ्लग्न हुन नसक्ने अवस्था नरहेको बताइन् ।

उनले अगाडी भनिन्, “यस सन्दर्भमा, नेपालको संविधान, ऐन कानुन र पार्टीको लोकतान्त्रिक मूल्य, मान्यतामा समेतलाई नजरअन्दाज गरेर राजनीतिमा सङ्लग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई सङ्कुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखित तुल्याएको छ । यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ ।”

पूर्व राष्ट्रपति भण्डारीले आफू एमालेको पार्टी सदस्य भएको ४५ वर्ष बितिसकेको समेत बताउदै भनिन् “म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको ४५ वर्ष बितिसकेको छ । त्यसैले पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवम् नीतिहरुप्रति प्रतिबद्ध हुँदा हुँदै मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन । यो पार्टी बनाउन म लगायत हजारौं नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मिहिनेत लागेको छ । यो कुरा म यहाँ कुनै भावनामा बगेर गरिरहेको छैन । बरु हाम्रो पार्टीका असल परम्परा, मूल्य एवम् आदर्शलाई आधार मानेर बहुत शान्त र गम्भीर भएर म यी कुराहरु राखिरहेकि छु ।”

उनले आफू पार्टीको निर्णयअनुसार राष्ट्रपतिको जिम्मेवारीमा रहेको र सो जिम्मेवारी सफलतापूर्वक पूरा गरी एक नागरिकको रुपमा रहँदै आएको विषय पनि उल्लेख गरिन  । सोही अवधिमा केही समयपछिदेखि नै आमसञ्चार माध्यम, पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट आफ्नो भावी राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदैआएको उनकाे भनाइ थियाे ।

उनले जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) प्रतिको नेकपा (एमाले) का नेता, कार्यकर्ता र आम सदस्य एवम् सम्पूर्ण सङ्गठनमा आबद्ध सबैको आस्था, विश्वास र निष्ठाले नै पार्टीले आजको सफलता हासिल गरेको बताउदै  पार्टीलाई वैचारिक रुपले थप सशक्त, साङ्गठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउनुपर्ने दायित्व रहेको उनको भनाइ थियाे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *