तराईमा खडेरी : सुक्न थाले धानको ब्याड

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

 मलङ्गवा नगरपालिका–११मा गम्हरियाका इन्दल साहले पर्याप्त वर्षा नहुँदा १८ कठ्ठा खेतमा धान रोपाइँ गर्न पाएका  छैनन् । रोपाइँका लागि खेतको आलीभित्ता खनेर (ताछेर) तयार पारेका साहलाई वर्षाको अभावमा रोपाइँ गर्न नपाएर धानको ब्याड छिप्पिएर जाँदा उत्पादन घट्ने चिन्ता छ । “साउन दोस्रो हप्ता लागिसक्यो तर धान रोपाइँ गर्न पुग्ने गरी पानी पर्न सकेन,” साहले भने , “२५ दिनमा रोपिसक्नु पर्ने ब्याड छिप्पिएर डेढ महिनाको भइसकेको छ ।”

झमझम झरी परेर तीव्र रुपमा धान रोपाइँ हुनुपर्ने मधेशमा हावा चल्ने र टन्टलापुर घाम लागेर खडेरी लम्बिँदै जाँदा किसान निराश छन् । कविलासी नगरपालिका–७, सिर्सियाका रामआश्रीत महतोले पनि वर्षा नहुँदा रोपाइँ गर्न नपाएको गुनासाे गरे । धानको ब्याडमा झारपात गोड्दै गरेका  महतोले असार-साउन महिना सुक्खा हुँदा चिन्तित तुल्याएको बताए ।  “धान गोड्ने समयमा ब्याडमा झार उखेलेर बस्नुपरेको छ,” महतोले भने , “अब त ब्याड पनि रोप्नै नहुने गरी छिप्पीसक्यो ।”

मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि देखि नै मधेश प्रदेशमा वर्षाको आंकलन गरे पनि यहाँ हावा चल्ने र टन्टलापुर घाम लागेर खडेरी लम्बिँदा किसान निराश देखिन्छन् । ईश्वरपुर नगरपालिका–१२, घारिबथानका नरबहादुर विश्वकर्माले पर्याप्त आकाशे वर्षा नहुँदा कुलोमा थोरै मात्रामा आइरहेको पानी पटाउन (सिँचाई गर्न) हानथाप पर्ने गरेको बताए  ।

कुलोको पानी लाग्ने क्षेत्रमा रहेको खेतमा धान रोपाइँ गरे पनि आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा पर्ने खेतमा भने रोपाइँ गर्न नपाएको विश्वकर्माको भनाइ छ । विश्वकर्मा भन्छन् , “असार-साउनमा धरी पानी पर्न नसक्दा हामी किसान निशब्द भएका छौँ ।”

कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार जिल्लामा ४४ हजार १७५ हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये असार मसान्तसम्मको विवरण अनुसार ४० प्रतिसतको हाराहारीमा रोपाइँ भएको कार्यालयले जनाएकाे छ । अहिले सिँचाई सुविधा रहेको क्षेत्रमा मात्रै धान रोपाइँ भइरहेको छ । नहर तथा कुलोको पानी लाग्ने क्षेत्रमा रोपाइँ भइरहेकै छ तर पूर्णरुपमा आकाशे वर्षाका भर रहेको क्षेत्रमा भने समस्या नै छ थप वर्षा नहुँदासम्म धान रोपाइँमा प्रगति हुने अवस्था देखिँदैन ।

जिल्लाको पश्चिमी र दक्षिणी भेगमा बागमती र मनुष्मारा खोलाबाट सिँचाई पुगे पनि उत्तरी र पूर्वी भेगमा आकाशे वर्षाको भर रहेको छ । पप्पसेट (दमकल) र बोरिङ चल्ने स्थानमा वैकल्पिक माध्यम प्रयोग गरेर सिँचाई गर्दा लागत बढ्ने किसानको गुनासो छ ।

बाँकेमा सुक्न थाल्यो रोपेको धान

लामो समयदेखि प्रर्याप्त वर्षा नहुँदा रोपाइँ नै कम भएको बाँके जिल्लामा रोपाइँ भएको धानसमेत पानीको अभावले सुक्न थालेको छ। सिँचाइ सुविधा नभएका जिल्लाका अधिकांश किसानले धान रोप्न नपाएको अवस्थामा पानीको अभावमा रोपेको धान सुक्न थालेको  हो। डुडुवा गाउँपालिका-४, मुन्डापुर्वाका पुत्तन बागवानले वर्षा नहुँदा अझैँ धान रोप्न सकेका छैनन्।

रोपेको धानसमेत सुक्न थालेको बताउँदै डुडुवाका किसानले बोरिङको पानीसमेत सुक्न थालेको गुनासो गरेका छन्। वर्षा नभएपछि रोपेको धान पनि सुक्न थालेको डुडुवा-४ का शालिकराम यादवले बताए । लामो खडेरीका कारण खेतको गरामा रहेको बियाड समेत सुक्न थालेको उनकाे भनाइ छ । गत वर्ष यो समयमा धान रोपेर सकेको स्मरण गर्दै यादवले यस पटक ३० प्रतिशत मात्र रोपेकोमा त्यो पनि सुक्न थालिसकेको गुनासाे गरे ।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार सुरुमा केही दिन वर्षा राम्रो भए पनि त्यसयता पानी नपर्दा धेरै किसानले धान रोप्न नपाएको र रोपेकाको पनि सुक्न थालेको बताएकाे छ । कृषि ज्ञान केन्द्र बाँकेका कृषि अधिकृत खडक बस्नेतका अनुसार हालसम्म ७३ प्रतिशत धान रोपाइँ भएको तथ्याङ्क सङ्कलन गरिएको बाँकेमा रोपिएको धेरै धान पानी नपाएर सुक्न थालेको सूचना आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *