मधेस प्रदेशका ८ जिल्लामा के छ अवस्था?

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

मधेस प्रदेशका ८ जिल्लामा विस्तारै जनजीवन सामान्यतर्फ उन्मुख हुँदैछ। सामान्य आवतजावतमा रोक नलगाए पनि मुख्य चोक तथा सडक क्षेत्रमा मानिसहरू भेला हुन रोक लगाइएको छ।

जेनजी समूहको नाममा भएको प्रदर्शनले उग्र रूप लिएर सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड गर्नुका साथै कारागारमा रहेका कैदीबन्दीहरू समेत भाग्न भगाउन थालेपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाउँदै आएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरेर स्थिति नियन्त्रणमा राखेको छ। सबैजसो जिल्लामा स्थानीय प्रशासनले पूर्ण तथा आंशिक रूपमा कर्फ्यू र निषेधाज्ञा जारी नै राखेको छ।

अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेका जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्यूलाई थोरै खुकुलो बनाएका छन्। कर्फ्यू नलागेको समय र स्थानमा निषेधाज्ञा लगाएका छन्। पर्सा, महोत्तरी, सर्लाही जिल्लामा सर्वसाधारणका लागि अत्यावश्यक काम गर्न निश्चित समय प्रदान गरिएको छ। कर्फ्यू अवधिभर आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा गर्न, समूह बनाई हिँड्न, बैठक तथा घेराउ गर्न निषेध गरिएको छ।

निषेधाज्ञाको समयमा भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता सामग्री टाँस्न वा लेख एवम् शान्ति र व्यवस्थामा असर हुने कुनै कार्य गर्न नपाउने र एकै ठाँउमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन रोक लगाइएको छ।

अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण गर्ने प्रशासनहरूद्वारा जारी आदेशहरूमा उल्लेख छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ मा प्रमुख जिल्ला अधिकारीलाई शान्ति सुरक्षा कायम राख्ने सम्बन्धी अधिकारको व्यवस्था गरिएको छ। जसमा प्रमुख  जिल्ला अधिकारीले कुनै स्थान वा क्षेत्रलाई जोखिमपूर्ण वा असुरक्षित देखेमा, त्यहाँ भीडभाड वा सभा–जुलुस नगर्न आदेश दिन सक्ने व्यवस्था छ।

शान्ति–सुरक्षा कायम राख्न आवश्यक भएमा प्रमुख जिल्ला अधिकारीले निश्चित क्षेत्रमा निश्चित समयका लागि व्यक्तिहरूको आवतजावत रोक्ने, जुलुस, प्रदर्शन वा मेला–महोत्सव प्रतिबन्ध गर्ने, हतियार, लाठी, विस्फोटक वा अन्य हानिकारक वस्तु बोकेर हिँड्न निषेध गर्ने आदेश जारी गर्न सक्छन्।

वीरगञ्जको बजार क्षेत्रमा कर्फ्यू कायमै

वीरगञ्ज महानगरपालिकाकाको बजार क्षेत्रमा लगाइएको कर्फ्यू आदेश जारी नै राखिएको छ। पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यू जारी राखिएको हो। जेनजी समूहको नाममा भएको प्रदर्शन उग्र बन्दै गएपछि २३ भदौदेखि नै वीरगञ्ज बजार क्षेत्रमा कर्फ्यू लगाइएको छ।

कर्फ्यू आदेशको अवज्ञा गरी प्रदर्शनमा उत्रिएकाहरूले वीरगञ्जमा रहेको सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गरेका थिए।प्रदर्शनलाई नियन्त्रणमा लिन २४ भदौमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको थियो। प्रशासनले बिहीबारदेखि भने कर्फ्यूलाई खुकुलो बनाएको छ।

बिहीबार अपराह्न ५ बजेदेखि साँझ ७ बजेसम्म र २७ भदौ बिहान ६ बजेदेखि १० बजेसम्म र अपराह्न ५ बजेदेखि ७ बजेसम्म नागरिकलाई अत्यावश्यक कार्यहरूका लागि सहजीकरण गरिने प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीद्वारा जारी आदेशमा उल्लेख छ।

निषेधाज्ञाको समयमा दैनिक उपभोग्य सामान खरिद बिक्री गर्न र सामान्य आवतजावत गर्न रोक नलगाइने प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुवेदीले जानकारी दिए। ‘जिल्लामा शान्ति सुरक्षाको अवस्था ठिक छ, वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू जारी नै छ तर बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म निषेधाज्ञा लगाइए पनि अत्यावश्यक कामका लागि आवागमन गर्न दिने निर्णय गरेका छौं’, सिडिओ सुवेदीले भने।

बारामा शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू

बारा जिल्लामा साँझदेखि भोलि बिहानसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ। जिल्लाको शान्ति सुरक्षा एवं अमनचयन कायम गर्न भदौ २६ गते बिहीबार साँझ ८ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो।

विषम् परिस्थितिको अनुचित फाइदा उठाउने उदेश्यले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा क्षति पुर्‍याउने, लुटपाट एवम् आगजनी गर्ने, व्यक्ति लक्षित हिंस्रक आक्रमण लगायत अवान्छित गतिविधि तथा क्रियाकलाप हुन नदिन कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रकाश पौडेलले जानकारी दिए।

प्रशासन कार्यालयबाट प्रदान हुँदै आएका शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेकका सेवाहरू २७ भदौसम्मका लागि बन्द रहने सूचना मार्फत जानकारी गराइएको छ।

रौतहटमा जिल्लाभरी नै कर्फ्यू आदेश जारी छ। भदौ २४ गते अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोदकुमार खड्काले अर्को आदेश जारी गरेका छैनन्। भदौ २७ गतेसम्मका लागि कार्यालय बन्द रहने सूचनामा उल्लेख छ।

महोत्तरीमा अत्यावश्यक कामका लागि दुई घण्टा 

महोत्तरी जिल्लालाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ। निषेधाज्ञा र कर्फ्यूबीच अत्यावश्यक कामका लागि दुई घण्टा समय दिइएको छ।बिहीबार साँझ ५ बजेदेखि ७ बजेसम्म दुई घण्टा अत्यावश्यक कार्यको लागि आवतजावत गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जारी गरेको आदेशमा जिल्लामा भदौ २६ र २७ गतेका लागि निषेधाज्ञा र कर्फ्यू लगाइएको उल्लेख छ। भदौ २६ गते बिहान साढे ११ बजे र २७ गते बिहान साढे ६ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ भने साँझ ७ बजेदेखि बिहान साढे ६ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ।

सर्लाहीमा कर्फ्यू र निषेधाज्ञा, अत्यावश्यक कामका लागि समय प्रदान

सर्लाहीमा २५ भदौदेखि जारी कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै लैजाने निर्णय भएको छ। बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभर लगाइएको कर्फ्यूलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिने दिने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बिहीबारलाई जिल्लाभर कर्फ्यू आदेश कायम राखेको छ। यस्तै, भदौ २७ गते बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म पूर्वमा झिम नदी, पश्चिममा बागमती नहर, उत्तरमा सशस्त्र प्रहरी बल नेपालको गण र दक्षिणमा नेपाल-भारत सीमासम्म कर्फ्यूलाई निरन्तरता दिने निर्णय गरेको छ।

बाँकी स्थानमा भदौ २७ गते बिहानदेखि अर्को आदेश जारी नहुँदासम्मका लागि निषेधाज्ञा लगाइएको छ। अत्यावश्यक कार्यका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि साढे ७ बजेसम्म हिँडडुल गर्न सकिने व्यवस्था मिलाइएको छ।

सिराहामा भोलि बिहानसम्म कर्फ्यू

सिराहामा २७ गते बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारीद्वारा जारी आदेशमा जिल्लाभरी कर्फ्यू आदेश जारी गरिएको उल्लेख छ। कर्फ्यू आदेश उल्लंघन गरिएमा कानुन बमोजिम कारबाही गरिने आदेशमा उल्लेख छ।

सिराहामा जेनजी समूहको नाममा भएको प्रदर्शनमा भएको क्षतिको विरोधमा बजार क्षेत्रमा विरोध कार्यक्रमहरू पनि भइरहेका छन्। जिल्ला प्रशासन कार्यालयले भदौ २७ गते शुक्रबारसम्मका लागि शान्ति सुरक्षा बाहेकका सेवा बन्द गरेको जनाएको छ। आइतबारदेखि राहदानी र राष्ट्रिय परिचयपत्र बाहेकका सेवा सञ्चालन हुने सिडिओ अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ।

प्रशासकीय अधिकृत सुरेश साहले भदौ २९ गतेदेखि जिल्लाभित्रका सरकारी तथा संघ संस्थानबाट सेवा प्रवाह पुन सञ्चालन गर्न अनुरोध गरेका छन्। सम्भव भएसम्म सामान्य सेवा मात्र भएपनि सञ्चालनको प्रबन्ध मिलाउन सूचनामा आग्रह गरेका छन्। साथै कार्यालयको क्षति विवरण संकलन गर्न अनुरोध गरिएको प्रशासकीय अधिकृत साहले जानकारी दिए।

‘आन्दोलन र विरोध कार्यक्रमपश्चात सबै तहमा सरकारी कार्यालय र सरकारी संघ संस्थानको भौतिक सवारी साधन, मेसिनरी औजार र सूचना प्रविधि समेतमा क्षति भएको छ। क्षतिको विश्लेषण गर्दै आफ्नो कार्यालयबाट प्रवाह हुने सेवालाई के कसरी छिटोभन्दा छिटो प्रवाह गर्न सकिन्छ भनेर सम्बन्धित कार्यालय प्रमुख सहितका कर्मचारीहरूलाई समन्वय सहजीकरण र सहकार्य गर्न भनेका छौं,’ उनले भने।

सप्तरीमा अनिश्चितकालीन कर्फ्यू

सप्तरी जिल्लामा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलले बिहीबार जारी गरेको आदेशमा अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *