साना हिमतालले बढाउँदै जोखिम, छैन सजकता

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपालमा साना हिमतालको बढोत्तरीले जनधनको क्षति हुने जोखिम उच्च बनाएको छ । साना हिमताल बन्ने र विकास हुने विषयमा एकीकृत अध्ययन नहुँदा थाहै नपाई हुने क्षति बढेको हो । अहिलेसम्म नेपालमा कति साना हिमताल छन् भन्ने यकिन तथ्य नभएको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक तथा हिमनदीविज्ञ रिजनभक्त कायस्थ बताउछन् । ठुलो जोखिम निन्त्याउने आशङ्कामा केही ठुला तालको अवस्था बुझ्ने र सोही अनुसारको सतर्कताको व्यवस्थापन मिलाइएको छ तर साना ताल भने बेवास्तामा छन् ।

पछिल्लो समय हिमबाढी बढ्नुमा साना हिमताल विस्फोट प्रमुख कारक रहेको दाबी गर्दै उनि भन्छन् , “यसै वर्षको वैशाख महिना रसुवागढी, हुम्ला र मुस्ताङमा ताल फुटेर बाढी आए, ती सबै साना हिमताल फुटेर आएका हुन्, जुन पहिले त्यहाँ थिए भनेर कसैलाई पत्तो थिएन ।” गत वर्ष सोलुखुम्बुको थामेमा आएको हिमबाढी पनि पछि बनेका साना हिमतालमध्येकै रहेको उनको भनाइ छ ।

कायस्थका अनुसार वैश्विक तापक्रम वृद्धिले हिमालमा हिउँका थुप्रा धमाधम गल्दै छन् । कुनै भित्रभित्रै गल्दै हिमनदीमै हिमताल बनेर रहेका छन् । कुनै हिमालको फेदमा ताल परेका छन् । कतिपय हिउँ पग्लेपछि सुक्खा हिमाली गेग्य्रानमुनिबाट बग्दै अन्यत्र ताल बन्न पुगेका छन् । एक पटक पोखरी बनेपछि हिउँ पर्दा त्यहीँ जम्ने, घाम लागेपछि फेरि पग्लेर ठुलो ताल बन्ने क्रम जारी रहन्छ । उनले भने , “तिनै ताल गेग्य्रानयुक्त घेराले धान्न नसकेपछि फुटेर हिमबाढीको रूप लिन्छ ।” हिमाली भेगमा बढेका तालको हिउँद र वर्खा हरेक सिजनमा निरन्तर अध्ययन नहुने हो भने भविष्यमा रसुवामा जस्तै ठुला विपत् दोहोरिन सक्नेछन् ।

रसुवा बाढीपछि भएका केही सतही अध्ययनले पनि हिमनदीभित्र बनेका साना हिमताल धेरै रहेको देखाएको छ । नेपालमा सन् २०२३ मा विद्यावारिधिका विद्यार्थी राकेश कायस्थले गरेको शोधपत्रमा नेपालमा दुई हजार तीन सयभन्दा बढी साना हिमताल रहेको उल्लेख छ । तीमध्ये एक हजारभन्दा बढी हिमनदीभित्र दबिएर रहेका छन् जुन तातो बढ्नासाथ जतिबेला पनि विस्फोट भएर बाढीको रूप लिन सक्छ ।

सन् २०२३ देखि २०२५ सम्म आइपुग्दा विश्वको तापक्रमको दर निकै उच्च बनेको छ । नेपालको छिमेकी चीन र भारतसँग हिमाली सिमाना जोडिएको छ । त्यसैले उतातर्फ बनेका हिमतालको सङ्ख्या अनगन्ती हुन सक्ने अनुमान छ । चीनतर्फको सिमानामा कोशी नदी आधार क्षेत्रमा सबैभन्दा बढी ठुला साना दुवै थरी हिमताल छन् । त्यसपछि गण्डकी नदीको मुहान क्षेत्रमा धेरै छन् ।

महाकाली नदीको मुहान क्षेत्रमा पनि ठुला साना हिमताल बढ्दो छन् । चीनबाट नेपाल पानीढलो भएको चिनियाँ क्षेत्रमा २५ वटा अति जोखिमयुक्त हिमताल छन् । इसिमोडको अध्ययन अनुसार रेकर्ड भएका ४७ वटा हिमतालमध्ये २४ वटा कोशी नदी पानीढलो (बेसिन) मा पर्छन् । त्यस्तै त्रिशूली नदीको शिरमा एउटा हिमताल छ । त्यहाँ पनि साना ताल बन्ने क्रम जारी छ । भारततर्फ महाकालीको शिरमा एउटा छ । यीबाहेक बाँकी २१ वटा ठुला नदीको मुहान क्षेत्रमा नेपालभित्रै रहेका हिमताल जतिबेला पनि विस्फोट हुने खतराको घण्टी बनेर रहेका छन् ।

कसले गर्ने अध्ययन

हिमनदी अध्येता डा. धीरज प्रधानाङ्गका अनुसार नेपालमा सन् १९७० मा जापान सरकारको सहयोगमा नेपालमा हिमनदी अध्ययन अभियान सुरु भयो । त्यो बेलादेखि नै नेपालका हिमालका बारेमा अध्ययन सुरु भएको मानिन्छ । इसिमोडले सन् २०१५ मा हालसम्मकै राम्रो अध्ययन गरेको थियो । बिच बिचमा सीमित क्षेत्र लिएर व्यक्तिगत र संस्थागत अध्ययन भएका पनि कछुवाको गतिमा छ ।

जोखिम थाहा भएका इम्जा, च्छोरोल्पासहितका अन्य ठुला चार वटा हिमताल जसमा मानवीय प्रयासबाट जोखिम कम गराइएको छ । उनले भने , “तत्कालीन रूपमा विस्फोट भएर गर्ने क्षति एउटा हो तर दीर्घकालीन क्षतिमा ध्यान गएको छैन ।” निरन्तर अध्ययन र पूर्वसूचनाका लागि कुनै निकाय तोकेरै जिम्मेवारी दिनुपर्नेमा उहाँको जोड छ ।

उच्च जोखिमयुक्त

चाइनिज एकेडेमी अफ साइन्सका हिमअध्येता नितेश खड्काका अनुसार नेपालमा ठुलाभन्दा साना ताल धेरै बढ्दै छन् । हिउँ गलनको परिणामले ‘सुप्राग्लेसियल लेक’ अर्थात् हिमनदीमाथि बन्ने ताल पनि बढ्दै छन् । यी ताल विशेष गरी अस्थायी र गतिशील हुन्छन् तर सबै अस्थायी हुन्नन्‌ ।

विश्वव्यापी अध्ययन र अहिले भइरहेका घटनाले ठुलाभन्दा साना तालको विस्फोट बढी भइरहेको खड्का औँल्याउछन्  । सीमापार जलाधार क्षेत्र अन्तर्गत चीनमा भएका ठुला हिमतालको औसत क्षेत्रफल ०.०५ वर्गकिलोमिटर छ । योभन्दा ठुला ताल १६ प्रतिशत छन् भने बाँकी सबै साना ताल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *