गत असार २४ को भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुललगायतका संरचनाको निर्माण सुरु भएको छ । रसुवागढीस्थित ल्हेन्देखोलामा बेलिब्रिज निर्माणको काम सुरु भइसकेको सडक विभागले जनाएको छ । विभागले नेपाल–चीन सीमास्थित मैत्री पुल रहेको ठाउँमा बेलिब्रिज तथा बाढीपहिरोबाट बगेका सडकलगायतका संरचनाको निर्माण कार्य सुरु भइसकेको छ, चीन सरकारले सो निर्माण सुरु गरेको हो ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल र स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड बगाएपछि चीनसँगको सो व्यापारिक नाका ठप्प भएको थियो । बाढीपहिरोले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म विभिन्न स्थानमा गरेर करिब एक किलोमिटर सडक बगाएको थियो, जस कारण स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको आवतजावत ठप्प भएको थियो । त्यसै गरी सोही दिनको बाढीपहिरोले रसुवागढीबाट केरुङतर्फ जाने २५ किलोमिटर सडकमा समेत क्षति पुर्याएको थियो ।
यसअघि सरकारले रसुवागढीमा बाढीपहिरोले बगेका पुललगायतका संरचना निर्माण गरी यथाशक्य सो नाका सञ्चालनका लागि चीनलाई आग्रह गरेको थियो । साउन १ गते सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चीनका राजदूत चेन सोङबिच भएको भेटमा मन्त्री दाहालले राजदूत चेनसँग सो आग्रह गरेका थिए । राजदूत चेनले दसैँअघि नै मितेरी पुल भएको ठाउँमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे अनुसार पुल निर्र्नुमाण शुरू भएको हाे ।
भदौ ३० गतेसम्म निर्माण सम्पन्न
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीपहिरोबाट बगेको मितेरी पुलको ठाउँमा बेलिब्रिज लगायतका संरचनाको निर्माण भदौ ३० गतेसम्म सम्पन्न गरिसक्ने जानकारी चिनियाँ पक्षले गराएको बताए । उनका अनुसार प्रतिबद्धताबमोजिम चीनले तीव्र गतिमा काम गरिरहेको छ । पौडेलले अहिले स्याफ्रुबेँसी–रसुवागढी सडकमा सवारीसाधन सञ्चालनमा आइसकेको जानकारी दिदै सो सडकमा बस लगायतका हलुका सवारीसाधन सञ्चालनमा आएकाे बताए । मालवाहक ट्रकलगायतका ‘हेभी’ सवारीसाधन सञ्चालनमा तत्कालका लागि रोक लगाइएको छ । यसअघि स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म १६ किलोमिटरमा आवतजावत बन्द भएको थियो ।
सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका अनुसार सडकको अवस्थाबारे विस्तृत अध्ययन गरेर मात्र स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म मालवाहक ट्रकलगायतका ‘हेभी’ सवारीसाधन सञ्चालनमा ल्याउन सकिने छ । चीन सरकारले मितेरी पुलमा बेलिब्रिज निर्माण गरुन्जेल नेपालतर्फका सडक संरचना पूर्ण रूपमा मर्मत भइसक्ने कार्यालयले जनाएकाे छ ।
