गायन रियालिटी शो ‘नेपाल आइडल’ छैटौं सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बनेकी छन् । राजधानीमा आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएकी हुन् ।
कार्यक्रम आयोजकका अनुसार विजेता उनलाई २५ लाख रुपैयाँसहितको उपाधि प्रदान गरिएको छ । यस्तै फस्ट रनरअपलाई १० लाख र सेकेन्ड रनरअपलाई ५ लाख रुपैयाँ प्रदान गरिएको छ । फिनालेमा गंगा सोनामसहित दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगर प्रतिस्पर्धामा थिए ।
परिचयःनेपाल आइडल छैटौँ सिजनकी विजेता गंगा सोनाम
गायन रियालिटी शो नेपाल आइडल छैटौँ सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम भएकी छन्। आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितिन्।
गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरे की २० वर्षीया युवती हुन्। उनी पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी सन्तान हुन्। गंगाले गाउँकै चण्डेश्वरी माविबाट कक्षा १२ उत्तीर्ण गरेकी छन्।
बाल्यकालदेखि नै सङ्गीतमा रुचि राख्ने गंगा विद्यालयका साङ्गीतिक कार्यक्रममा सक्रिय थिइन्। उनका दाइ दीपेन्द्र सोनम पनि लामो समयदेखि सङ्गीत क्षेत्रमा आबद्ध छन्। दीपेन्द्रका अनुसार, परिवारमै साङ्गीतिक वातावरण भएकाले गंगाले सङ्गीत क्षेत्रमा सहज रूपमा प्रगति गर्न सकिन्।
