बाढी र पहिरोका कारण तमोर करिडोर,मेची राजमार्ग र मध्यपहाडी राजमार्ग सहित मुख्य सडक अवरुद्ध भएका छन । लगातारको अविरल वर्षासँगै आएको बाढीका कारण मेची राजमार्गको पाँचथरस्थित हेँवा खोला,मध्यपहाडी राजमार्गको रिजालभिर र दोभानेखोला,तमोर करिडोरको नावा खोला खण्डबाट बिहानैदेखि सवारी साधन र ढुवानी सेवा वारपार हुन सकेका छैनन भने राँके रवि भेडेटार र फिदिम फालौट जस्ता मुख्य सडकमा आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार शनिबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण मेची राजमार्गको हेंवा खोलामा आएको बाढीले डाइभर्सनको तह पार गर्दा राजमार्ग मध्यरातदेखि अवरुद्ध भएको हो । यस्तै तमोर करिडोरमा पर्ने पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा आएको बाढीका कारण यो सडक अवरुद्ध भएको हो । राँके रवि छ नम्बर बुधबारे हुँदै धनकुटाको भेडेटार जोड्ने सडक पनि बन्द भएको बताइएको छ ।मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अन्तर्गत रिजाल भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
सोही राजमार्गको दोभाने खोलाको डाइभर्सनमा पनि बाढीले क्षति पुर्याएको छ फिदिम फालौट खण्डमा पर्ने फेमे खोला र मुवा खोलाका डाइभर्सन पनि बाढीले पुरेको छ ।जस कारण यी दुवै खोलाबाट सवारी वारपार गर्न सकिरहेका छैनन ।जिल्ला प्रशासन कार्यालय पाँचथरले सचेत रहन सर्वसाधारणलाई सूचना मार्फत आह्वान गरेको छ ।
कालीगण्डकी कोरिडोर अवरुद्ध
नवलपुरको गैँडाकोट नगरपालिका–३ तरङ खोलामा पानीको बहाव बढेपछि कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । बाढीले खोलाको डाइभर्सन बगाएपछि कोरिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ ।गैँडाकोट हुँदै पाल्पा पुग्ने यो सडक अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुहरुले सास्ती पाउने गर्दछन् । पानीको बहाव घटेपछि डाइभर्सन बनाइ सडक सञ्चालन गरिने बताइएकाे छ ।
नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गत दाउन्नेमा अवरोध हुन सक्ने भन्दै यात्रुले काेरिडोरको बाटो प्रयोग गर्ने गरेका छन् । यो करिडोर पनि बन्द भएपछि यात्रु मारमा परेका छन् ।
अवरुद्ध फिदिम-फालौट सडकखण्ड सञ्चालन
बाढीका कारण अवरुद्व पाँचथरस्थित फिदिम नांगिन याङनाम सडकखण्ड सञ्चालनमा आएको छ।फिदिम नगरपालिका १ र ११ को सिमाना छुट्याएर बग्ने फेमे खोलाको अवरोध हटाइएसँगै यो सडकमा सवारी र ढुवानीका साधन सञ्चालनमा आएका हुन्।
अविरल वर्षासँगै आएको बाढीले यहाँ निर्मित डाइभर्सनदेखि दाहिने भागको सडक कटान गर्दा आइतबार बिहानैदेखि सडक अवरुद्व थियो। यसैबीच पूर्वाधार विकास कार्यालय पाँचथरले झण्डै १२ घण्टा लगाएर खोलाको धार परिवर्तन गर्दै कल्भर्टबाट निकास दिएर कटान गरेको सडक मर्मत गरेपछि अवरुद्ध सडक सुचारु भएको छ । यो सडकले फिदिम नगरपालिकाको ११, १२ र १३ नम्बर वडासँगै फालेलुङ गाउँपालिकालाई जोड्छ।
