हनुमन्तेखोला अतिक्रमण , धार नै परिवर्तन गराएर बजार विस्तार

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

भक्तपुरमा हनुमन्तेखोलाको बाढी र डुबानको त्रासदी आरम्भ भएको एक दशकभन्दा बढी भयो । वर्षायाममा हनुमन्तेखोलाको बहाब क्षेत्रमा पर्ने पालिकामा बाढी र डुबान हुँदै आएको छ । यसको एक मात्रै कारण हो अतिक्रमण । दुई दशकअघि फराकिलो बहाब क्षेत्र रहेको हनुमन्तेखोला अहिले साँघुरिएको छ । हनुमन्तेखोलाको बहाब क्षेत्र अतिक्रमण गरी ठुल्ठुला भवन, घर र व्यावसायिक कम्प्लेक्स निर्माण गरिएको छ । केही क्षेत्रमा खोलाको धार नै परिवर्तन गरिएको छ ।

पछिल्लो एक दशकमा मात्रै बाढी र डुबानको त्रासदी बढ्दो दरमा  छ । २०५० पछि भूमाफियाले खोला फर्काएर जग्गा बिक्रीवितरण गरे । भूमाफियाको चलखेलका कारण खोलाकै जग्गा खरिद गरेर घर बनाएकाहरू अहिले बिचल्लीमा परेका छन् ।

स्थानीयवासीका  अनुसार हनुमन्तेखोलाको जग्गा अतिक्रमण गरेर धार नै परिवर्तन गरेपछि सृजित समस्याले घर बनाउनेको बिचल्ली र बाढीको प्रताडना सुरु भएको हो । हनुमन्तेखोलाको सहायक खोलाको बहाब क्षेत्रमा पर्ने बालकोटका विभिन्न स्थान, राधेराधे, मध्यपुर थिमि नगरपालिका–३, काठमाडौँ स्कुल अफ ल जाने बाटोसहित कैयौँ स्थानमा अतिक्रमण गरिएको छ । स्थानिय भन्छन , “भक्तपुरमा खोला मिच्ने काम धमाधम भइरहेको छ । त्यसै कारण बाढीले बर्सेनि क्षति पु¥याउने गरेको हो । यसलाई रोक्न खोलालाई आफ्नो बहाब क्षेत्रमा बग्न दिनु पर्छ ।”

२०७६ साउन १२ गते नापी कार्यालय भक्तपुरले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरलाई पत्र लेख्दै हनुमन्तेखोलाको जग्गा मिचेर बस्ती विस्तार भएको प्रस्ट पारेको छ । पत्रमा भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका–२ को दिव्यश्वरीमा पर्ने कित्ता नं. १११९ को ६९ रोपनी ११ आना तीन पैसा जग्गाको प्लट रजिस्टर भएको देखिने तर कित्ता नक्सा नदेखिएको हुँदा मालपोत कार्यालयकै स्रेस्तामा भएको बेहोराबाट जानकारी लिन भनिएको छ ।

साथै कित्ता नं. १०१२ को २८ रोपनी तीन आना दुई दाम जग्गा चाहिँ फिल्डबुकमा खोला रहेको कित्ताकाट नापी कार्यालयमा रहेको प्लट रजिस्टरमा देखिएको उल्लेख छ । त्यसै गरी सर्वोच्च अदालतले २०७६ फागुन ६ गते ‘हनुमन्तेखोलाको बहाब परिवर्तन भएको वा अन्य कुनै तवरबाट सार्वजनिक वा सरकारी जग्गालाई निजी प्रयोगमा ल्याइएको छ वा छैन भन्ने हेरेर यकिन गरी मालपोत ऐन, २०३४ को दफा २४ समेतलाई दृष्टिगत गरी आवश्यक निर्णय गर्न मालपोत कार्यालय भक्तपुरका नाममा परमादेश जारी गरेको थियो । आदेशमा सार्वजनिक वा खोलाको बहाब क्षेत्र कायम हुनुपर्ने प्रस्ट पारिएको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ स्थित दिव्यश्वरीको कित्ता नं. १०१२ को २८ रोपनी तीन आना दुई दाम २०३१ वैशाख २५ गतेको निर्णयानुसार कित्ताकाट भई कित्ता नं. ११२० र ११२१ कायम भएको थियो । कित्ता नं. ११२० को १७ रोपनी १४ आना जग्गा २०३१ वैशाख २५ गतेको निर्णयानुसार जगन्नाथ आचार्य (भक्तपुर जिल्ला लोकन्थली वडा नं. २) का नाममा कायम भएको थियो । उक्त जग्गा अहिले ४६ कित्ताकाट भएको छ । साथै कित्ता नं. १०१२ को २८ रोपनी तीन आना दुई दाम जग्गा खोलाको भए पनि भूमाफियाले कित्ताकाट गरी बिक्री गरेको पाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *