तीन जिल्लामा भेटिए शव र खुट्टा, रसुवाको बाढीबाट बगाएको आशंका

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

रसुवागढीमा बाढी आएपछि तीन वटा जिल्लामा शव र शरीरका खुट्टा फेला परेका छन्। गोसाइँकुण्ड गाउँपालिका-२ भन्सार यार्डमा बाढीले बगाउँदा २० जना बेपत्ता भएका थिए। बेपत्ताहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अहिले रसुवा, नुवाकोट र धादिङमा शव फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी विनोद घिमिरेले जानकारी दिए। ‘शव र खुट्टा फेला परेका छन्। त्यही बाढीमा परेका हुन् वा होइनन् भन्ने सनाखत भइसकेको छैन,’ उनले भने।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार उत्तरगया गाउँपालिका-५ स्थित खोला किनारमा पुरूषको दाहिने खुट्टा फेला परेको छ। खुट्टा फेला परे पनि शरीरका अन्य भाग फेला पर्न सकेको छैन।

त्यसैगरी नुवाकोटमा एउटा खुट्टा र एउटा खुट्टा नभएको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं एसपी दुर्गा रेग्मीले जानकारी दिए।विदुर नगरपालिकाको वडा नम्बर ३ मा एउटा खुट्टा नभएको शव फेला परेको उनले जानकारी दिए। वडा नम्बर ४ मा भने एउटा खुट्टा मात्रै फेला परेको हो।

त्यस्तै, धादिङमा भने तीन वटा सग्लो शव र दुई वटा खुट्टा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए। सुरूमा गल्छी गाउँपालिका-२ केउरेनीस्थित खोला किनारमा एउटा पुरूषको शव फेला परेको थियो।  त्यसपछि गजुरीकै वडा नम्बर ६ बेल्खुमा अर्को सग्लो शव फेला परेको डिएसपी हमालले बताए।

केहीबेरपछि गजुरी-२ मलेखुमा दाहिने खुट्टा फेला परेको हो। फेरि धादिङको बेनिघाट रोराङ-७ चरौडीमा सग्लो शव फेला परेको डिएसपी हमालले जानकारी दिए। सोही पालिकाको वडा नम्बर ३ लामबगरमा त्रिशूली नदी किनारमा एउटा खुट्टा फेला परेको हो।

दुई वटा शव र एउटा खुट्टाको मुचुल्का गरी पोष्टमर्टमको लागि टिचिङ अस्पताल पठाइएको छ। बाँकी एउटा शव र एउटा खुट्टाको पनि मुचुल्का गरी पठाउने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *