प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस प्रकरणमा ‘एक्सन’ लिने तयारी गरेका छन् । घुस प्रकरणमा जोडिएका गुप्ताको अडियोबारे प्रधानमन्त्रीको सचिवालयले बुझेर विफ्रङ गरिसकेकाले उनलाई एक्सन लिने तयारी भएको स्रोतको दाबी छ ।
यद्यपि प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँले प्रधानमन्त्री काठमाडौं फर्केपछि घुस प्रकरणबारे बुझ्ने काम हुने बताए । ‘प्रधामन्त्रीज्यू काठमाडौंबाहिर हुनुहुन्छ, आएपछि बुझ्नु हुन्छ, अहिले सोसल मिडियामा अडियो आयो यसबारेमा बुझ्नपर्छ, मन्त्रीसँग पनि कुराकानी हुन्छ त्यसपछि मात्रै के गर्ने थाह हुन्छ’, प्रेस विज्ञ बजगाईँले भने ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्रीको सचिवालयले गम्भीर रहेको जानएको छ । कर्मचारीहरूको सरूवा तथा भूमिसुधार मन्त्रालय अन्तर्गतको मालपोत अधिकृतको सरूवा गराउने विषयमा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री गुप्ता घुस प्रकरणमा मुछिएका हुन्।
यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ। उनले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी गरिएपछि उनले घुस डिल गरेको अडियो सार्वजनिक भएको हो । यो विषयमा कुरा गर्दै संघीय मामिला मन्त्री गुप्ताले आफूलाई कुनै पनि जानकारी नभएको र आफ्नो चरित्र हत्या गरेको बताएका छन् । उनले मालपोत कार्यालय भूमिसुधार मन्त्रालयको भएको दाबी गर्दै यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निष्पक्ष छानबिन गरिदिन आग्रह गरेको बताए ।
‘घुसको डिल गर्ने को मान्छे हो म चिन्दिन मालपोत मेरो मन्त्रालयमा पर्दैन, मैले आफ्नै जिल्लामा आफ्नै पार्टीको मान्छेलाई भूमि आयोगमा नियुक्त गर्न सकिन, यो अडियो मेरो होइन,’ उनले भने ।
मन्त्री गुप्ताको अडियोमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई पनि मुछेका छन् । तर मन्त्री अधिकारीले यो विषयलाई ठाडै अस्वीकार गर्दै आफूलाई कुनै पनि जानकारी नभएको बताए । पारिवारिक काममा भारत रहेका भूमि व्यवस्था मन्त्री अधिकारीले यो विषय आफूलाई जानकारी नभएको र मन्त्रीले गुप्ताले के भनेका हुन भन्ने बारेमा आफूलाई थाहा नभएको बताए ।
‘कसले कसले के भन्छन्, विना आधार किन आरोप लगाउँछन् र यो सामान्य प्रशासन मन्त्रीले के भन्नु भएको हो भन्ने पनि जानकारी छैन,’ मन्त्री अधिकारीले भने । अख्तियारमा अडिओसहितको उजुरी परेपछि छानबिन सुरु गरिसकेको छ । अख्तियारमा भने असार १० गते नै उजुरी परेको थियो। सो उजुरीको आधारमा अनुसन्धान प्रकृया अघि बढाएको हो। करिब १० मिनेट लामो अडियो संवादमा मन्त्री गुप्ता एक महिलासहित बिचौलियासँग भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्ति गर्न आर्थिक लेनदेनको गरिरहेको सुनिएको छ । कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीलाई थमौती गरिदिने र यही भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्तिको विषयमा घुस डिल भइरहेको अडियोमा सुनिन्छ ।
मालपोत कार्यालय प्रमुखको थमौतीका लागि मन्त्री गुप्ताले ५३ लाख रुपैयाँ लिएको उजुरी पर्नुका साथै केही रकम डिल भइरहेको पनि अडियोमा सुनिएको छ।‘खेम पुनका लागि के । २० बुझाइदिन्छु के । भन्दिनु त बलरामलाई । भन्दिनु त मन्त्रीज्यू’, बिचौलियाको आवाज अडियोमा सुनिएको छ। प्राप्त अडियोमा एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्न बिचौलियाले २५ लाख घुसको प्रस्ताव गरेको बुझिन्छ। संवाद भएकै दिन १५ लाख र भोलिपल्ट थप १० दिने अडियोमा सुनिन्छ ।
घुस लिएको प्रमाणित भए नागरिकता त्यागेर देश छाड्छु: मन्त्री गुप्ता
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि लागेको घुस प्रकरणको खण्डन गर्दै उक्त आरोप प्रमाणित भए आफूले नागरिकता नै त्याग्ने घोषणा गरेका छन्। एक टेलिभिजन अन्तर्वार्तामा आक्रामक रूपमा प्रस्तुत भएका मन्त्री गुप्ताले आफूविरुद्ध सार्वजनिक भएको अडियो आफ्नो नभएको र यो आफ्नो राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र मात्र भएको दाबी गरे।
कर्मचारी सरुवा र भूमि आयोगको अध्यक्ष नियुक्तिमा घुस लेनदेन गरेको भन्दै करिब १० मिनेट लामो अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा तानिएका हुन्। सोही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परिसकेको छ।
मन्त्री गुप्ताले भने, ‘मलाई तथ्य र प्रमाण दिनुस्, म अहिले राजीनामा दिन्छु। यदि त्यो अडियो मेरो हो भनेर प्रमाणित भयो भने। म राजनीति मात्र होइन, नागरिकता छोडेर नेपालै छोड्छु।’ उनले आफूविरुद्धको अडियो प्रविधिको दुरुपयोग गरेर बनाइएको हुन सक्ने संकेत गर्दै आफूले कसैबाट एक कप चियासमेत नखाएको दाबी गरे। ‘म टुँडिखेलमा झुन्डिन तयार छु तर मैले गल्ती गरेको छैन,’ उनले भने।
मन्त्री गुप्तामाथि दुईवटा प्रमुख आरोप लागेका छन्। पहिलो, मालपोत कार्यालय, कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्नका लागि ५३ लाख रुपैयाँ घुस लिएको र दोस्रो, एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गर्न २५ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएको हो।
असार १० गते नै अख्तियारमा दर्ता भएको उजुरीमा घुस रकम राखिएको भनिएका दुई झोला र नोटका बन्डलसहितको फोटो समेत समावेश गरिएको छ। अडियोमा एक महिला र बिचौलियासँग मन्त्री गुप्ताले आर्थिक लेनदेनको कुरा गरिरहेको सुनिन्छ। सार्वजनिक अडियोमा मन्त्री गुप्ताले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको नाम समेत मुछेका छन्।
‘भन्दिनु त बलरामलाई,’ जस्ता संवादले अधिकारीको पनि संलग्नताको आशंका उब्जाएको छ। यद्यपि मन्त्री अधिकारीले भने आफूलाई यस विषयमा कुनै जानकारी नभएको र आरोप आधारहीन भएको प्रतिक्रिया दिएका छन्। मन्त्री गुप्ताको घुस प्रकरण सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले गम्भीर चासो व्यक्त गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे बुझेर आवश्यक कदम चाल्ने तयारी गरेको स्रोतले जनाएको छ। उता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उजुरीका आधारमा छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै मन्त्री गुप्ताले यो सरकारलाई बदनाम गराउने सुनियोजित प्रपञ्च भएको र अख्तियारको छानबिनमा पूर्ण सहयोग गर्ने बताएका छन्।
