उपत्यकामा तीन सय बसस्टप निर्माण हुने

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौँ महानगरपालिका भित्र तीनसय वटा बसस्टप निर्माण गरिने भएको छ । सडकमात्र निर्माण भएको तर बसस्टप कम हुँदा यात्रुलाई सास्ती हुनुका साथै ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको भन्दै संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणले बसस्टपहरु निर्माण गर्ने योजना अघि सारेको हो ।

काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापनका लागि तीन  वर्ष अघि गठन भएको प्राधिकरणले विश्व बैंकको सहकार्यमा सार्वजनिक यातायात व्यवस्थापनलाई पुनर्संरचना गर्न अध्ययन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्राधिकरणले जनाएकाे छ ।  अहिले काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातको व्यवस्थापन र प्रविधिमैत्री सञ्चालनका लागि योजना बनाउन प्राधिकरणले अध्ययन गरिरहेको छ ।

प्राधिकरणको संरचनादेखि व्यापार योजनासम्मका सवालमा अध्ययन भएको नियमावली मन्त्रिपरिषद्मा पेश भएको छ । प्राधिकरणले गरिरहेको अध्ययनमा सडक निर्माण भइरहेको तर बसस्टप र शौचालयको अभाव देखिएको छ । सडकहरुमा सार्वजनिक शौचालयको व्यवस्थापन पनि प्राधिकरणले गर्नेछ । सडकमा सार्वजनिक शौचालयको अभाव छ । चक्रपथमा पनि समस्या छ । आवश्यकताअनुसार शौचालय राख्ने काम पनि प्राधिकरणले गर्ने छ  प्राथमिकताका साथ शौचालयको व्यवस्थापन हुनेछ  ।

सार्वजनिक यातायात व्यवस्थापनका लागि रुटको प्राथमिकीकरण गरिने भएको छ । ठूला, मझौला र साना गाडीको वर्गीकरण गरी रुट निर्धारण गरिने भएको छ । सबै गाडी एउटै रुटमा सञ्चालन गर्दा भद्रगोल भएको  छ । साथै कार्यालय समयमा सञ्चालन हुने गाडीलाई पनि रुटअनुसार सञ्चालनको व्यवस्था गर्ने गरी योजना निर्माण भएको छ ।

व्यवस्थित रुट निर्धारण नहुँदा गाडीहरुको अनावश्यक प्रतिस्पर्धा भएको । जसले गर्दा जाम र दुर्घटना पनि हुने गरेका छन् । रुटको पहिचान गरिएपछि कसैले कसैलाई हस्तक्षेप नहुने गरी निश्चित कर बुझाएपछि गाडी चलाउने पाउने छ ।रुट विभाजनमा डेडिकेटेड रुटको पनि पहिचान गरिने भएको छ । डेडिकेटेड रुटका लागि नमुनाको रुपमा ललितपुर महानगरमा दुई र चार पाङ्ग्रे सवारी चलाउनका लागि व्यवस्था गरिने भएको छ ।

सार्वजनिक यातायातमा डिजिटल प्रविधि लागू गरिने योजना छ । जिपीएस जडानलाई अनिवार्य गर्ने गरी कार्ययोजना बनेको छ । उपत्यकाको सार्वजनिक यातायातको नियमन र अनुगमन अनलाइनबाटै गर्ने गरी योजना बनाइएको छ । साथै २० वर्ष पूराना सवारी साधनलाई पत्रु गरी  तिनीहरुको व्यवस्थापन गरिने भएको छ ।

सार्वजनिक यातायातको पुनर्संरचना गर्ने गरी अध्ययन प्रतिवेदन आएको छ । अहिले अध्ययन र योजना निर्माण भैरहेकाे छ ।  असोजमा अध्ययन सकिएपछि कार्यान्वयन हुनेछ ।

संघीय राजधानी काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापनको जिम्मेवारी पाएको प्राधिकरणको परिषद्को अध्यक्ष काठमाडौँ महानगरपालिकाको नगर प्रमुख रहने व्यवस्था छ भने अन्य पालिका पनि परिषद्मा छन् । शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन- २०७९’ ले उपत्यकाको सार्वजनिक यातायात सुधारमा काम गर्ने गरी परिषद् र प्राधिकरणको प्रावधान गरेको थियो ।

प्राधिकरणले सार्वजनिक यातायात सम्बन्धी नीति, अल्पकालीन, दीर्घकालीन योजना र रणनीति तयार पार्ने, वातावरणमैत्री, यात्रुमैत्री सार्वजनिक यातायातको सञ्चालन, व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ । साथै, सूचना प्रविधिमा आधारित नगदविहीन (क्यासलेस) एकीकृत यातायात प्रणाली विकास गर्ने, वास्तविक समयमा आधारित सूचना प्रणाली विकास गर्ने तथा विकास गरिएका प्रणाली कार्यान्वयनमा ल्याउनु प्राधिकरणको भनाइ छ ।

बस बिसौनी, बिसौनीमा सार्वजनिक शौचालय निर्माण र सञ्चालन, पैदलयात्री, अपाङ्गता भएका व्यक्ति, साइकलयात्रीमैत्री सडक व्यवस्थापन प्राधिकरणका प्रमुख काम हुन् । त्यस्तै, सार्वजनिक यातायातसँग सम्बन्धित विवरण संकलन, अभिलेखन, अद्यावधिक र गुणात्मक उपयोग गर्ने, आवास क्षेत्र,व्यापारिक केन्द्र वा सपिङमलमा यातायात सेवा उपलब्ध गराएबापत् सेवा शुल्कतोक्ने,रुट निर्धारणजस्ता कामहरु पनि प्राधिकरण को जिम्मेवारीमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *