टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा बाढीका कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ । भीषण वर्षाका कारण जलाधार क्षेत्रको सतह अत्यधिक बढ्दा दुई दिनदेखि आएको बाढीका कारण मृत्यु हुनेको संख्या स्थानीय समयअनुसार सोमबार बिहानसम्म ६७ जना पुगेको हो ।
अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी केरि काउन्टीका ५९, ट्राभिसका ४, बर्नेटका ३ र केन्डाल काउन्टीका १ जना रहेका छन् । बाढीकै कारण माइस्टिक समर क्याम्पबाट ७ सय ५० मध्ये २७ जना किशोरीहरू बेपत्ता भएका छन् ।
हन्ट टेक्सासमा रहेको नदीमा पानीको बहाव र सतह अत्यधिक बढ्दा किनारमा रहेको क्रिस्टियन क्याम्पमा रहेको २७ जना किशोरी बेत्तपा भएका हुन् । प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको छ । समर क्याम्पबाट उद्धार गरिएकी १३ वर्षीया एलिनोर लेस्टरले घटनाको विवरण सुनाउँदै भनिन्, ‘क्याम्प पूरै नष्ट भएको थियो । हेलिकोप्टरले हामीलाई लिन आयो । हामी डोरी समातेर पुल पार गर्दै पानीबाट निस्किएका थियौं ।’
टेक्सासका गभर्नर ग्रेग एबटले उद्धार संयन्त्रले अहिलेसम्म ८ सय ५० जनालाई बाढीग्रस्त क्षेत्रबाटै सकुशल उद्धार गरिएको बताएका छन् । ‘हेलिकोप्टर, बोटिङ र प्रहरीलगायत उद्धार टोलीले हाल पनि उद्धारलाई जारी राखेका छन्’, उनले भने, ‘उद्धारका लागि हामी कुनै पनि हदसम्म पुग्न तयार छौं ।’
बाढीग्रस्त क्षेत्रमा हालसम्म पानी, विद्युत् र सञ्चार सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ । हाल बाढीबाट प्रभावित क्षेत्रमा करिब ५ सय सुरक्षाकर्मी र १४ वटा हेलिकप्टरले उद्धार कार्यमा सहयोग गरिरहेको गभर्नर एबटले जानकारी दिएको अमेरिकी सञ्चारमाध्यम एपीले उल्लेख गरेको छ ।
टेक्सासका सैन्य अधिकारी मेजर जनरल थोमस सुएल्जरले आपतकालीन कर्मचारीले कम्तीमा एक हजार बढी स्थानीयलाई उद्धार गरेको र करिब ५ सय जनालाई हेलिकप्टरबाट सुरक्षित स्थानमा सारिएको बताए ।
