दार्चुलाका अमरबहादुर बम २२ वर्षदेखि दुबईको जेलमा मृत्युदण्डको सजाय कुरिरहेका छन् । एउटा हत्याकाण्डमा उनी जोडिएका छन्, जसमा उनी निर्दोष हुन्, किनभने उनको संलग्नता पुष्टि भएकै छैन । मात्रै उनले चलाएर गएको गाडीका दुई यात्रुचाहिँ हत्याकाण्डमा संलग्न थिए । ती भारतीय नागरिकले गरेको अपराधमा अमरलाई प्रयोग त गरे तर उनी स्वयंलाई थाहा थिएन, त्यो कुरा स्वयं अपराधीहरूले नै त्यहाँको अदालतमा गरेको बयानबाट पुष्टि हुन्छ । तर पनि मतियार भनेर अमरलाई जेलमा कोचिएको छ ।
अमरविरुद्धको फैसला अनुचित यातना र भाषिक अवरोधको उपज हो । त्यहाँको अदालतले त्यस्तो फैसला गरे पनि संयुक्त अरब इमिरेट्स (यूएई) मा अदालतभन्दा माथि राजाको विशेषाधिकार छ । अमरले न्याय पाउने अन्तिम उपाय भनेको राजाको विवेक हो । त्यसका लागि हाम्रो देशको राजकीय तहको कूटनीतिक पहल चाहिन्छ । हाम्रा प्रधानमन्त्रीले दुबईका राजालाई अमरको निर्दोषिताको आधारसहित आममाफीको आग्रह गर्न सक्छन्, यही चाहना अमरको छ ।
सवाल अमरबहादुर बमको एउटा ज्यानको मात्रै नभई निर्दाेषिताको पनि हो र नेपालीले आफ्नो देश छ, राज्य छ भनेर विश्वको जुनसुकै कुनामा रहे पनि अनुभूत गर्न पाउने कुरा हो । सँगसँगै नेपालको राष्ट्रको नैतिक गरिमा पनि यो अन्यायपूर्ण घटनासँग जोडिएको छ । दिल्लीमा मार्बल ढुवानी गर्ने ड्राइभरको सामान्य जीवन बिताइरहेका अमर राम्रो अवसरको लोभमा दुबई भारतीयहरूबाट पुर्याइएका हुन् । अमर गाडी चलाउने काममै गएका हुन् दुबई । सन् २००३ जनवरी १९ मा भएको हत्याकाण्डका अपराधीहरू उनको गाडी चढे, तर उनलाई के थाहा कि ती हत्याराहरू हुन् । अमरले प्रहरीसँग आफ्नो निर्दोषिता जाहेर नगरेका होइनन्, त्यहाँको प्रहरीले दिएको यातनाकै कारण अपराधको मतियार बन्न बाध्य भएका छन् । जेलमा रहेका अमरले छुट्ने मौका पाएनन् भने मृत्युदण्ड भोग्नु पर्नेछ । हो, यही संवेदनशीलतालाई ख्याल गर्दै प्रधानमन्त्री तहकै पहल यहाँ आवश्यक देखिन्छ ।
आफ्नो नागरिक संसारको जुनसुकै कुनामा रहे पनि सुरक्षा र संरक्षण सरकारको कर्तव्य हो । अन्तर्राष्ट्रिय मानवअधिकार सन्धिहरूले पनि यस्ता नागरिकलाई कानुनी र दूतावासीय सहायता सुनिश्चित गर्छ । अमरले यी कुनै सहायता पाएका छैनन् । अमरको मुद्दामा न त वकिलको साथ थियो, न त निष्पक्ष अनुवादकको । उनी यान्त्रिक न्यायको सिकार भएका छन् । अमर स्वयंले जेलबाट प्रधानमन्त्री गुहारेका छन् ।
प्रधानमन्त्रीले युएईका राजासँग कुरा गरेर उनको ज्यान जोगिन्छ भने त्यतिको पहल हुनुपर्छ । पहल भएर न्याय पाए अमर नेपाल फर्कन सक्छन्, आफ्नो परिवारसँग बाँच्न सक्छन्, र नयाँ जीवन सुरु गर्न सक्छन् । विदेशको जेलमा भएको एउटा नागरिकको याचना सरकारले सुन्नुपर्छ । अमरको जीवन बाँच्नुपर्छ । उनले न्याय पाउँदा सम्पूर्ण नेपालीमा सरकारप्रतिको विश्वसनीयताले पनि उचाइ पाउनेछ ।
