विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्समाथि नेपालको जित

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

स्कटल्यान्डमा जारी विश्वकप क्रिकेट लिग–२ मा  नेपालका नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रियमा स्मरणीय ‘डेब्यु’ गरेपछि नेपालले विश्वकप क्रिकेट लिग–२ मा नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ । दाहिने हाते तीब्र बलर नन्दन र सन्दीप लामिछानेले ३–३ विकेट लिँदै नेपाललाई स्कटल्यान्ड भ्रमणमा अर्को एतिहासिक विजय दिलाएका हुन् ।

२ सय ३७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेदरल्यान्ड्स डन्डीको फोर्टहिलमा ४९.२ ओभरमा २ सय २० रनमा अलआउट भयो । नेपालले यस लिग-२ को शृंखलामा ४ मध्ये ३ खेल जितेर स्कटल्यान्ड भ्रमणलाई स्मरणीय बनाएको छ । विदेशी भूमिमा नेपालको उत्कृष्ट प्रदर्शनको आफ्नो कीर्तिमानलाई बराबरी गरेको हो ।

सन् २०२३ मा पनि नेपालले यूएई भ्रमणमा पनि ४ मध्येको ३ खेल जितेको थियो । १५ खेलमा नेपालले १२ अंक जोडी सातौं स्थानमा छ । लिग २ मा नेदरल्यान्ड्सको यो लगातार चौथो पराजित हो । यद्यपि टोली २३ खेलमा २६ अंक जोडी दोस्रो स्थानमा छ । आठ राष्ट्र सहभागी लिग-२ का शीर्ष चार टोली विश्वकप छनोटमा पुग्ने छन् ।

यादवले चौथो ओभरमै म्याक्स ओ डडलाई ४ रनमा आउट गरी नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । अर्का ओपनर माइकल लेभिटले २७ बल खेली ३ चौका र १ छक्कासहित २७ रन बनाए । भेट्रान वेस्ली बारेसीले डच टोलीबाट सर्वाधिक ३६ रन बनाए । उनले ६० बल खेली ३ चौका प्रहार गरे । कप्तान स्कट इडवार्डसले ३० रन बनाए । उनले ४७ बल खेली २ चौका प्रहार गरे । दुवैलाई देव्रेहाते स्पिनर ललित राजवंशीले आउट गरे ।

सन्दीपले ज्याक लियन क्याचेटलाई २ र तेजा निडामानुरुलाई १७ रनमा आउट गरी नेपाललाई खेलमा फर्काएका थिए । नोह क्रोसले २७ बल खेली ४ चौका प्रहार गरी २२ रन बनाए । उनलाई कुशल भूर्तेलले एलबीडब्लू आउट गरे ।

नन्दनले एकै ओभरमा रोइलोफ भान डेर मर्बी र केयल क्लेइनलाई आउट गरेपछि नेपाल विजयको नजिक पुगेको थियो । भान डेर मर्बीले २२ बल खेली १६ र क्लेनले ४६ बल खेली २५ रन बनाए । दुवैले समान १ छक्का प्रहार गरे । नेदरल्यान्ड्सलाई विजयका लागि अन्तिम ओभरमा १८ रन चाहिएको अवस्थामा करण केसीले पाउल भान मिकेरेनलाई आउट गरी नेपाललाई जित दिलाए ।

नन्दनले ९ ओभरमा १ मेडन राख्दै ३९ र सन्दीपले १० ओभरमा ३९ रन खर्चेर समान ३–३ विकेट लिएका हुन् । ललितले १० ओभरमा १ मेडन राख्दै २९ रन खर्चेर २ विकेट लिए । करण र कुशल भूर्तेलले १–१ विकेट लिए ।

यसअघि आरिफ शेखको अर्धशतकको मद्धतमा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभर खेलेर ९ विकेट गुमाई २ सय ३६ रन जोडेको थियो । तर आरिफ खेलको दौरानमा डेन्जर जोनमा दुई पटक दौडिएका कारण अन फिल्ड अम्पायरहरुले नेपाललाई १० पेनाल्टी रन लगाइएपछि नेदरल्यान्ड्सले ब्याटिङ सुरु गर्दा टोलीको खातामा सिधै १० रन थियो ।

एकदिवसीय अन्तर्राष्ट्रियमा आरिफको यो व्यक्तिगत उच्च स्कोर पनि हो । स्कटल्यान्डमा भइरहेको शृंखलामा आरिफले दोस्रो अर्धशतक बनाएका हुन् । नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा नेपालले विजय हात पार्दा आरिफले ७८ रन बनाएका थिए, जुन यसअघि उनको व्यक्तिगत उच्च स्कोर थियो ।

प्लेयर अफ द म्याच आरिफले ८४ बल खेली ७ चौका र २ छक्का प्रहार गरि ८२ रन बनाए । नन्दन १२ बलमा १० रन बनाई अविजित रहे । सन्दीप इनिङ्सको अन्तिम बलमा २ रन लिने चक्करमा २ रनमा रनआउट भए । नेपालको सुरुआत राम्रो हुन सकेन । दुई चौका प्रहार गरेका कुशल भूर्तेल १९ बलमा १८ रन बनाई पाउल भान मिकेरेनको बलमा इन साइड एज लागि बोल्ड भए । आसिफ शेखको स्थानमा ल्याइएका अनिल साहले १६ बल खेली २ रनमात्र बनाउन सके ।

भीम सार्की र कप्तान रोहित पौडेलले तेस्रो विकेटमा ५९ रनको साझेदारी गरे । त्यसपछि खेलमा पाँचौं बलरको रुपमा आएका मध्यमगतिका बलर लेभिट हावी भएका थिए । उनले भीम र रोहित दुवैलाई ३५ रनमा आउट गरे । भीमले ३८ बल खेली ३ चौका र रोहितले ६० बल खेली १ छक्का प्रहार गरे ।

लेभिटले दीपेन्द्रसिंह ऐरीको पनि विकेट लिए । दीपेन्द्रले २४ बल खेली १ चौकासहित १६ रन बनाए । बसिर अहमद र करण दुवै समान ११ रनमा आउट भए । मिकेरेनले १० ओभरमा ५८ रन खर्चेर ४ र लेभिटले १० ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए ।

नेपालबाट चोटका कारण सोमपाल कामी र गुलशन झा खेलेका थिएनन् । सोमपाललाई स्कटल्यान्डविरुद्धको खेलमा ब्याटिङका क्रममा बाउन्सर बलले कुहिनामा चोट लागेको थियो । गुलशनलाई घुँडामा चोट लागेको छ । यी दुवैले अर्को साता ग्लास्गोमा सुरु हुने तीनदेशीय ट्वान्टी/२० शृंखलासमेत गुमाउने छन् । सोमपाल र गुलशनको स्थानमा नन्दन र बसिरलाई खेलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *