विदेशी मुद्राको सञ्चिति २५ खर्ब नाध्यो

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

मुलुकमा विदेशी विनिमयको सञ्चिति २५ खर्ब रुपैयाँ बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार  गत वर्षको तुलनामा चालु आवको वैशाख मसान्तसम्मा विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले बढेको छ ।

२०८२ वैशाख मसान्तमा सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ। २०८२ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ ।

चालु आव २०८१/८२ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । २०८२ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदाय सँगका अनुपातहरु क्रमशः ४१.१ प्रतिशत, १२१.४ प्रतिशत र ३३.८ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *