‘डाइभर्सन’ को भरमा राजमार्ग

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राति पानी पर्दा आएको बाढीले डाइभर्सन बगाउँदा नवलपरासीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भयो । भीषण वर्षापछि आएको बाढीले सडक कटान गर्दा नवलपरासीस्थित पूर्व–पश्चिम राजमार्गको पूर्व र पश्चिम दुवैतर्फ सवारीसाधन अवरुद्ध भयो । हजारौँ यात्रीले दुःख पाए ।

सो राजमार्गमा पर्ने विनयी त्रिवेणी, चोरमारा, दुम्कीबास र दाउन्नेमा निर्माण गरिएका ‘डाइभर्सन’  बाढीले बगाएको हो । त्यसै गरी चोरमारा र दुम्कीबासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सनसमेत अबिरल वर्षाले बगाएको थियो । नवलपरासीपूर्वमा पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीबास पुल गत पुस २६ गते नै भाँचिएको थियो । पुल भाँचिएपछि ती ठाउँमा खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएका थिए ।

त्यसै गरी काठमाडौँ–हेटौँडा जोड्ने कान्ति लोकपथमा मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बागमती खोलामा बाढीले डाइभर्सन बगाएपछि सो सडक पनि अवरुद्ध भएको थियो । सो स्थानमा पुनः डाइभर्सन मर्मतपछि  सवारीसाधन सञ्चालन गरिएको थियो । गत असोज १० देखि १२ गतेको भीषण वर्षाका कारण बागमती नदिमा आएको बाढीले सो सडक खण्डमा पर्ने बगुवा बेलिब्रिजको पहुँचमार्ग बगाएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएको छ । त्यसै गरी असोज १० देखि १२ गतेको भीषण वर्षाका कारण रोशी खोलामा आएको बाढीले बिपी राजमार्गका विभिन्न ठाउँमा निर्माण गरिएका ‘डाइभर्सन’ बगाउँदा सो राजमार्ग अवरुद्ध हुँदै आएको छ ।

यी त केही उदाहरण मात्र हुन् । अहिले मुलुकभित्रका अधिकांश राजमार्ग तथा सडक ‘डाइभर्सन’ को भरमा सञ्चालन गरिँदै आएको छ । ‘डाइभर्सन’ कै कारण एकछिन पानी पर्दा राजमार्ग नै अवरुद्ध हुने अवस्था छ । सडक भासिँदा वा पुल भाँचिँदा यातायात सञ्चालन गर्न निर्माण गरिएका ‘डाइभर्सन’ बगाउँदा सवारीसाधन अवरुद्ध भई यात्रीले घण्टौँ दुःख पाउने गरेका छन् ।

सडक वा पुलको ‘डाइभर्सन’ केही समयका लागि निर्माण गरिए पनि बर्सौंसम्म तिनकै भरमा यातायात सञ्चालन हुँदै आएको देखिन्छ । कहिलेकाहीँ मानवीय क्षतिसमेत हुने गरेको छ । सडक विभागका सहसचिव तथा प्रवक्ता प्रभात झाले राजमार्ग वा सडक भाँसिँदा र पुलहरू भाँचिँदा तत्काल यातायात सञ्चालनका लागि ‘डाइभर्सन’ निर्माण गर्ने गरिएको बताउछन् ।

उनि भन्छन्न, “डाइभर्सन स्थायी समाधान होइन तर क्षतिग्रस्त संरचनाको पुनर्निर्माण वा नयाँ निर्माण नभएसम्म यसको विकल्प पनि हुँदैन । नयाँ संरचना छिटो निर्माण हुनुको सट्टा ढिलो हुँदा समस्या उत्पन्न भएको हो ।” खरिद तथा ठेक्कापट्टाको लामो प्रक्रिया भएकाले पनि ‘डाइभर्सन’ को ठाउँमा नयाँ संरचना निर्माणमा ढिलाइ हुँदै आएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *