बसको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु, चारको उपचार हुँदै

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

 त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका वडा नं. ३ विद्युत प्राधिकरणस्थित सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट दुईजना पैदलयात्रुको मृत्यु र चारजना पैदलयात्रु घाइते भएका छन् ।

गए साँझ त्रिभुवन राजपथ सडकखण्डमा गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नं. बस ब्रेक फेल भई सडकमा हिँडिरहेका पुरुष व्यक्तिहरुलाई ठक्कर दिई थाहा नगरपालिकाको उपप्रमुख भरत गोपालीको घरभित्र बस पस्न गई दुर्घटना भएको हो ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविन बाबु अर्यालको नेतृत्वमा गएको प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बसको ठक्करबाट हाल वतन नखुलेको वर्ष ३५-४० का कृष्ण बलामी र ठेगाना नखुलेको वर्ष ३५-४० का लोकेन्द्रकुमार ठाकुरको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा सोमबार  मृत्यु भएको जानकारी दिए  । उनका अनुसार ठाकुर र बलामीको शव प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा राखिएकाेछ ।

यस्तै, ठेगाना नखुलेका वर्ष ३५-३६ को रघुनन्दन यादव र वर्ष अं.३५-३६ का कमलेश कुमार साहको शरीरको विभिन्न भागमा चोट लागि गम्भीर अवस्था रहेकाले उपचारको लागि ट्रमा सेन्टर काठमाडौँ पठाइएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका १७ बस्ने वर्ष ३२ का छेयाङ दोर्ज लामा र बारा जिल्ला कोल्बी नगरपालिका १ बस्ने वर्ष ३० का रामगुलाम चौधरी शरीरको विभिन्न भागमा चोट लागेको र हाल प्राथमिक स्वास्थ्य केन्द्र पालुङ मकवानपुरमा उपचार भइरहेको छ ।बस चालक थाहा नगरपालिका ५ वसन्तका वर्ष २९ का राजेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्याक्टरको ठक्करबाट दुईजनाको मृत्यु

सुनसरिमा ट्याक्टर ठक्करबाट भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित फुल चोकमा आज दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार  पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०२–००३ त ९०२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इनरुवा नगरपालिका–१० का २० वर्षीय सर्पराज अन्सारी र हरिनगर गाउँपालिका–१ का २१ वर्षीय महजित अन्सारी गम्भीर घाइते भएका थिए ।

दुवैलाई उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल लगिएकोमा  उपचारका क्रममा सर्पराजको दिउँसो १ः५० बजे र महजितको २ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक भोक्राहा नरसिंह–३ का ४६ वर्षीय सुब्जी राम चमारलाई जिल्ला प्रहरी कार्यलयले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *