नारायणी नदी किनारमाप्लास्टिक फोहोरको मात्रा सबैभन्दा उच्च भेटिएको छ । भरतपुर महानगरपालिका क्षेत्रमा पर्ने नारायणी नदीको देवघाटदेखि गोलाघाटसम्म फेला परेको फोहोरको विश्लेषण गर्दा यस्तो अवस्था पत्ता लागेको हो । फोहोर मैलालगायतका विषयमा चेतनामूलक अभियान सञ्चालन गर्दै आएको चितवनका युवाहरुको संस्था ‘बेटर चितवन’ले नदी किनारको फोहोरबारे अध्ययन गरेर आइतबार प्रतिवेदन सार्वजनिक गरेको छ ।
देवघाटको दुई क्षेत्र स्नानघाट र दाहसंस्कार स्थल, जोरकुसुम पार्क, नारायणगढ नदी किनारको विद्यालय पछाडि क्षेत्र र प्रदर्शनीस्थल क्षेत्र, नगर वन नदी किनार, शिवघाटको भंगेरीथान र भरतपुरको अन्तिम पश्चिमी बिन्दु गोलाबाट गरी आठ स्थानमा फोहोरको अवस्थाबारे विश्लेषण गरेको बेटर चितवनका पूर्वअध्यक्ष तथा अध्ययन संयोजक सागर कार्कीले जानकारी दिए । यी क्षेत्रमा भेटिएका फोहोरमध्ये साढे ४२ प्रतिशत प्लास्टिक छन् ।
त्यसमध्ये सबैभन्दा धेरै प्लास्टिक फोहोर देवघाट क्षेत्रमा ७२ प्रतिशत रहेको कार्कीले बताए । आठ क्षेत्रमध्ये अत्यधिक फोहोर नगरवन क्षेत्रमा करिब २३ प्रतिशत भेटिएको छ । नगर वन क्षेत्रमा केही समयअघिसम्म पनि भरतपुर महानगरको फोहोर लगेर पुर्ने गरिन्थ्यो । अहिले भने त्यहाँ फोहोर पुर्न बन्द भएको छ । महानगरले जलदेवी बरण्डाभार जंगलमा लगेर फोहोर पुर्न सुरु गरेको छ ।
बेटर चितवनले नवलपुर गैंडाकोटको सहमति नामक संस्थाले सञ्चालन गरेको ‘नदीसँग हामी’ परियोजनाअन्तर्गत रहेर फोहोरको अवस्थाको लेखाजोखा गरेको हो । बेटर चितवनका तर्फबाट परियोजनाको संयोजन गरेकी आकृति सुवेदीका अनुसार गएको कात्तिक २४ गतेदेखि ३० गतेसम्म यसबारे अध्ययन भएको थियो । यी आठ क्षेत्रमा १५ मिटर ब्यासभित्र भेटिएका फोहोरको विश्लेषण गरेको उनले जानकारी दिइन् ।
नारायणी नदी धार्मिक दृष्टिले पवित्र मानिन्छ । देवघाटमा स्नान र दाहसंस्कारस्थल नै छ । गोलाघाट पर्यटकीय क्षेत्रका रूपमा विकास भएको छ । चितवन निकुञ्ज हुँदै बग्ने भएका कारणले जंगली जीवजन्तुका लागि पनि यो नदी निकै नै महत्त्वपूर्ण छ । पर्यावरण र धार्मिक दृष्टिले महत्त्वपूर्ण हुँदाहुँदै पनि फोहोर मैलाको अवस्था भयावह देखिएको अध्ययन संयोजक कार्कीले बताए ।
देवघाटदेखि गोलाघाटसम्म सात ठाउँमा प्रशोधन नगरेको ढलको पानी सिधै नदीमा मिसाएको पाइएको उनले जानकारी दिइन् । ढल मिसावटदेखि अव्यवस्थित मेला महोत्सव र घुम्न आउनेहरूले गर्ने लापर्बाहीका कारणले नै नदीमा फोहोर बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ ।
