बिस वर्षअघि गरिएको इन्जिनियरिङ अध्ययनमै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ गैरीगाउँलाई खतरापूर्ण भनिए पनि लापरबाही गरेर बोरिङ गरेपछि गाडी भासिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत खानी तथा भूगर्भ विभागको प्रारम्भिक अध्ययन अनुसार सिङ्क होल (जमिन भासिनु) निर्माण हुनुमा जमिनमुनि रहेको मसिनो माटोलाई पाइपिङका माध्यमबाट निष्कासन हुनु नै मुख्य कारण पाइएको छ ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झाले अध्ययन कार्य सम्पन्न गरी प्रतिवेदन तयार गरिएको र अध्ययनले जमिनमुनिको पानी बाहिर निकालिएपछि जमिन भासिएर खाल्डो परेको निष्कर्ष आएको बताए । उनले भने , “भौगर्भिक अध्ययनका अनुसार लामो समय सिल्ट मिसिएको पानी निष्कासन हुँदा यसले जमिनभित्र नयाँ भ्वाङ पार्ने र त्यहाँ भएका पुराना भ्वाङहरूलाई ठुलो पार्छ । गैरीगाउँमा जमिन भासिएको घटना पनि यस्तै नै हो ।”
खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. नारायण अधिकारीको नेतृत्वमा भूगर्भशास्त्री र भूभौतिकशास्त्री कृष्ण पाण्डे तथा जलभूगर्भशास्त्रीको जिम्मेवारीमा अनुभव हासिल गरेका विभागका सहायक भूगर्भविद् मणि खनाल र जियोटेक्निकल ल्याबका प्राविधिक अमरबहादुर थापाको टोलीले अध्ययन गरी प्रतिवेदन तयार गरेको हो ।
भूगर्भविद् डा. अधिकारीका अनुसार खानी तथा भूगर्भ विभागले २०६२ सलामा तयार पारेको इन्जिनियरिङ तथा वातावरणीय भौगर्भिक नक्सा तथा प्रतिवेदन, अलग अलग वर्षका भूउपग्रहका तस्बिर र शोधमा आधारित रहेका लेखका अध्ययनका आधारमा प्रतिवेदन बनाइएको हो ।
कसरी भासियो जमिन ?
हेटौँडा उपमहानगरपालिका वडा नं. १६ र १७ को सीमास्थित गैरीगाउँस्थित सडकमा गडिरहेको ना४च ४८३३ नम्बरको बोलेरो गाडी भासिएको हो । चालक हरेराम राई र सहचालकले गाडीबाट निस्किएर जोगिए पनि गाडी खाल्डोबाट निकाल्न सम्भव भएन । वैशाख २१ गते मात्रै खानी तथा भूगर्भ विभागलाई जानकारी दिइयो । कमजोर जमिनमा भासिएको गाडी निकाल्ने प्रयासमा मात्रै स्थानीय तह, गाडीधनी र स्थानीयवासी केन्द्रित भए तर विभागले जमिन भासिएको क्षेत्रको भित्री संरचना कमजोर रहेकाले गाडी निकाल्दा हुन सक्ने क्षतिबारे गम्भीर हुन आग्रह गरेको छ ।
भूगर्भविद् डा. अधिकारीले प्रारम्भिक अध्ययनका आधारमा गैरीगाउँको सिङ्कहोलको केन्द्र भागमा कम्तीमा ११ मिटर गहिरो देखिएको जानकारी दिदै भने , “यसरी जमिन भासिँदा करिब तीन मिटर जतिको ठाडो स्कार्प बनेको प्रस्टै देखिन्छ ।”
उनका अनुसार जमिन भासिएको स्थानमा करिब पाँच वर्षअघि बोरिङ खनिएको र बोरिङबाट सङ्लो पानी नआएको, कहिले कालोमाटो र कहिले धमिलो माटो मिसिएको पानी आएको जानकारी बोरिङ सञ्चालकले दिएका छन् । उनले जमिन भासिएको ठाउँमा खनिएको बोरिङ पनि अहिले भत्किएको र सिङ्कहोलको केन्द्रमा अहिले पनि जमिनभित्रबाट सिल्ट मिसिएको पानी आइरहेको जानकारी दिए ।
उनले भने , “सिल्ट निष्कासन नरोकिँदा जमिनमुनि परेको भ्वाङ बढ्दै जाने, जमिन निरन्तर भासिने र कहिलेकाहीँ सतहमा चिरा पर्दै जान्छ । यही भ्वाङ ठुलो हुँदै जाँदा जमिनमुनिको भागले माथिको लोड धान्न सक्दैन । त्यसैले जमिन भासिन्छ । यस्ता सिङ्कहोल निर्माण हुन्छन् । गैरीगाउँको क्षेत्रमा भएको घटना पनि यस्तै प्रकृतिको हो ।”
विभागको अध्ययन टोली प्रमुख भूगर्भविद् अधिकारीका अनुसार खानी तथा भूगर्भ विभागले २०६२ सालमै इन्जिनियरिङ तथा वातावरणीय भौगर्भिक नक्सा तथा प्रतिवेदन तयार पारिएको र जमिन भासिएपछि उक्त प्रतिवेदन पनि अध्ययन गरिएको छ । उनले अध्ययनमा कर्रा खोला उपत्यका वरिपरि देखिएका माटो तहहरू अवलोकन गरिएको, सतहमुनिको माटोको प्रकार र प्रकृति बुझ्नका लागि ‘पावर अगर’ प्रयोग गरिएको र डुबेको सवारीसाधनको स्थान निर्धारण गर्न ‘प्रोटोन म्याग्नेटोमिटर’ प्रयोग गरिएको बताए ।
हेटौँडा उपमहानगरपालिका नगरप्रमुख मीनाकुमारी लामाले सुरुमा गाडी निकाल्न कोसिस गरिए पनि खानी तथा भूगर्भ विभागको अध्ययन टोली आएर अध्ययन अघि बढाएपछि उक्त क्षेत्रलाई सिलबन्दी गरिएको बताउदै भनिन, “जमिन भासिएको ठाउँलाई सिलबन्दी गरेर सुरक्षाकर्मीद्वारा निगरानी गराइएको छ । मैले स्थलगत निरीक्षण गरेकी छु । जग्गा व्यक्तिकै हो तर विभागको सुझाव अनुसारै त्यहाँ के गर्ने भन्ने निर्णय हुन्छ । अरू घरहरू जोखिममा नपरून् भनेर सचेतता अपनाइने छ ।”
