पत्रकारलाई १० लाखको दुर्घटना बिमा

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि १० लाख रुपियाँ बराबरको दुर्घटना बिमा हस्तान्तरण गरेको छ । शनिबार शाखामा आयोजित कार्यक्रममा जिल्लाका क्रियाशील २१ जना पत्रकारको दुर्घटना बिमा तथा आर्थिक सहयोग गरिएको हो ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, शाखा अध्यक्ष हरिकृष्ण गौतम, संस्थापक अध्यक्ष धनश्याम खड्काले पत्रकारलाई दुर्घटना बिमा हस्तान्तरण गरेका थिए  । तीन वर्षदेखि क्रियाशील पत्रकारहरूको दुर्घटना बिमा गरिएको छ ।

दुर्घटना बिमाका लागि शिखर इन्स्योरेन्ससँग सम्झौता गरिएको छ । यो योजनाअन्तर्गत पत्रकारहरू कार्यक्षेत्रमा खटिएका बेला वा अन्य पेसागत कार्यका क्रममा दुर्घटनामा परेमा मृत्यु वा पूर्ण अशक्तताका लागि १० लाख रुपियाँसम्म र घाइते भएमा उपचारका लागि एक लाख रुपियाँसम्मको लाभ प्रदान गरिने छ ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष पौडेलले पत्रकारको पेसागत सुरक्षाका लागि नयाँ कार्यसमितिका कार्यहरू प्रशंसनीय भएको बताए  । यसैबिच मिर्गौला रोगबाट ग्रसित म्याग्दीकाली एफएमका कार्यरत सञ्चारकर्मी दिपा बुढाथोकीकी आमा लीला पुनको उपचारका लागि पत्रकार महासङ्घको आपतकालीन कोषबाट ३२ हजार ५ सय सहयोग हस्तान्तरण गरिएको कोषाध्यक्ष साधन राम्जालीले जानकारी दिए  ।

पत्रकार महासङ्घले सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरूका साथै परिवारका सदस्य वा कुनै समस्या परेमा कोषमार्फत सहयोग गर्ने छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता गौतम, स्वागत उपाध्यक्ष दलप्रसाद विश्वकर्मा र सञ्चालन सचिव ठाकुरप्रसाद आचार्यले गरेका थिए ।

म्याग्दी शाखाले हालसम्म नयाँ पत्रकार उत्पादन र पत्रकारिता क्षेत्रको क्षमता विकासका लागि पत्रकारिता पाठशालामार्फत तालिम, सूचना तथा प्रसार विभागबाट प्रेस कार्डसहित घुम्ती शिविर, स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिता, हिमाली जिल्लाअन्तर्गत म्याग्दीका सञ्चार माध्यमहरूलाई सुविधाको मागसहित विभिन्न कार्यक्रमहरू गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *