वर्षाको सम्भावना भोलि मङ्गलबार सम्मै

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

देशका विभिन्न स्थानमा आउँदो मङ्गलबारसम्म हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा आज र भाेलि मङ्गलबारसम्म पनि विभिन्न भूभागमा कायम रहने भएको हो । अत्यधिक तातो बढेका बेला भएको बदली र वर्षाले आमनागरिकलाई गर्मीबाट राहत पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आइतबार देशका अधिकांश भूभागमा बदलीसहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको थियाे  । मौसमविद् गोविन्द झाका अनुसार आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेको छ । साथै बङ्गालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा गराउन मद्दत पुर्‍याएको छ ।

वर्षाले चिस्यान हल्का बढाए पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा गर्मीको अवस्था कायम रहेकाले सतर्कता अपनाउन भनिएको छ । कोशी प्रदेश र मधेश प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा अन्यत्रभन्दा राम्रो वर्षा हुने र गड्याङगुडुङसहित चट्याङ पर्ने सम्भावना भएकाले सचेत रहन विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज सोमबार पनि कोशी, मधेश र बागमती प्रदेशमा हल्का वर्षा हुने सम्भावना छ । भाेलि मङ्गलबार पनि यी तीन प्रदेशसहित लुम्बिनी प्रदेशमा हल्का वर्षा हुने छ । उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए  । बुधबारदेखि भने अधिकांश भूभागमा हल्का सुधार देखिए पनि केही भेगमा बदली र हल्का वर्षा कायम रहने झा काे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *