युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि पुटिन तयार

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि खुला रहेको बताएका छन् । तीन वर्षभन्दा बढी चलेको युद्ध अन्त्य गर्ने वार्तापछि राष्ट्रपति ट्रम्पका विशेषदूत स्टिभ विटकफले नयाँ खुलासा गरेका हुन् ।

पछिल्लो समय ट्रम्पले युद्धविराममा सहमत हुन मस्को र किभलाई दबाब दिइरहेका छन् । तर रुसी र अमेरिकी अधिकारीबीच पछिल्लो समय भएका वार्ता भने निष्कर्षमा पुगेका छैनन् ।

ट्रम्पका विशेषदूत विटकफले गत शुक्रबार रुसी सहर सेन्ट पिटर्सबर्गमा पुटिनसँग भेटवार्ता गरेका थिए । रिपब्लिकन राष्ट्रपति ट्रम्प जनवरीमा ह्वाइट हाउस फर्केपछि विटकफ र पुटिनबीचको त्यो तेस्रो बैठक हो । सोमबार फक्स न्युजसँगको अन्तर्वार्तामा विटकफले शान्ति सम्झौता ‘उदय हुँदै’ गरेको आफूले देखेको र पुटिनका दुई प्रमुख सल्लाहकार युरी उसाकोभ र किरिल दिमित्रिभ ‘प्रभावशाली बैठक’ मा रहेका बताए ।’पुटिनको अनुरोध युक्रेनमा स्थायी शान्ति होस् भन्ने हो । त्यसैले युद्धविरामभन्दा पर हामीले त्यसको जवाफ पायौँ,’ विटकफले भने, ‘हामीलाई यो ठाउँमा पुग्न केही समय लाग्यो । मलाई लाग्छ हामी केही कुराको नजिक हुन सक्छौँ जुन विश्वव्यापी रूपमा धेरै महत्त्वपूर्ण हुनेछ ।’ विटकफले रुस र अमेरिकाबीचका व्यापारिक सम्झौता पनि वार्ताको हिस्सा रहेको बताएका छन् ।

‘मलाई लाग्छ केही धेरै आकर्षक व्यापारिक अवसरमार्फत रुसी–अमेरिकी सम्बन्धलाई पुनः आकार दिने सम्भावना छ, जसले यस क्षेत्रमा वास्तविक स्थिरता दिन्छ भन्ने मलाई लाग्छ,’ उनले भने । कूटनीतिक उथलपुथलका बावजुद युक्रेनमा युद्धविराम हुने ट्रम्पको मुख्य उद्देश्यमा केही प्रगति देखिएको छ ।

 रुसी राष्ट्रपति पुटिनले गत महिना अमेरिकाले राखेको ३० दिने युद्धविराम प्रस्ताव अस्वीकार गरिदिएका थिए । तर क्रेमलिनले कृष्ण सागरमा युद्धविराम गरेसँगै पश्चिमा देशले केही प्रतिबन्ध हटाएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *