नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका रिगल ढकाल पुनरावलोकनको मागसहित सर्वोच्च अदालत पुगेका छन्। यो विषयलाई वृहत् पूर्ण इजलासमा पठाउने आदेश भएको सर्वोच्चले जनाएको छ।
उच्च अदालत नेपालगञ्जको आदेशलाई चुनौती दिँदै ढकालले सर्वोच्चमा पुनरावेदन गरेका थिए। तर, सरकारबाट कैद छुट पाउने भएपछि उनले १० भदौ ०८० मा मुद्दा फिर्ता लिएका थिए। जसपछि ३ असोजमा उनको कैद मिनाहा भएको थियो। यद्यपि मृतक मानन्धरको तर्फबाट भारती शेर्पाले रिट दर्ता गराएपछि सर्वोच्चको पूर्ण इजलासले उक्त निर्णय उल्ट्याएको थियो।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिको कार्यालयबाट भएको निर्णय न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले माफी गरिएको कैद असुलउपर गर्न आदेश दिएको थियो। सरकारले ढकालको ११ वर्ष ११ महिना पाँच दिन कैद माफ गरेकोमा आइन्दा यस्तो निर्णय गर्दा कानूनद्वारा निर्धारित प्रतिशतको बन्देज, पीडितको हक संरक्षणका साथै उनको मञ्जुरी लिई, नजीर र यसअघिका आदेशसमेत ध्यानमा राखी मात्र निर्णय गर्न परमादेश जारी भएको थियो।
यहि फैसलाविरुद्ध ढकाल पुनरावलोकनमा गएका हुन्। १६ कात्तिक ०८० मा सर्वोच्चले यस्तो आदेश गरेकोमा पुनरावलोकनको निस्सा माग गर्दै ढकालले निवेदन दर्ता गराएका थिए। यो निवेदन उनले गत २५ कात्तिकमा दर्ता गराएको पनि यहि २१ चैतमा मात्र पहिलो पेसी चढेको थियो।
न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुँयाल र नृपध्वज निरौलाको इजलासले वृहत पूर्ण इजलासमा पठाउन आदेश दिएको हो। ‘तीनजनाको पूर्ण इजलासले यसअघि पनि हेरिसकेकाले पहिलेको एउटा नजीरअनुसार वृहत् पूर्णमा पठाउने आदेश भएको हो,’ सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले भने।
यसअघि वृहत् पूर्ण इजलासबाट गणेश पञ्जियारविरुद्ध न्याय परिषद् भएको मुद्दामा प्रतिपादित नजीरअनुसार वृहत् पूर्णमा पठाउने आदेश भएको हो। तीन सदस्यीय पूर्ण इजलासबाट भएको निर्णयउपर परेको पुनरावलोकनको निवेदनको सुनुवाइ सो फैसला गर्ने न्यायाधीशको संख्याभन्दा बढी संख्या रहेको इजलासबाट हुने गरेको पूर्वअभ्यास एवं न्यायिक परम्परा रहेकाले उक्त इजलासमा पठाइएको हो। अब वृहत् पूर्णले नै निस्सा दिने वा नदिनेसम्बन्धमा निर्णय गर्नेछ।
ढकाललाई सरकारले कैद माफी दिई सर्वोच्चले उक्त निर्णय उल्टाए पनि यसै मुद्दाका अन्य प्रतिवादीहरुको मुद्दा भने हाल पनि सर्वोच्चमा विचाराधीन छ। ०६७ असारमा ढकालसमेतका व्यक्तिले मानन्धनको हत्या गरेका थिए।
