बारबर्दिया नगरपालिका –७ सोनपुर गाउँकि रामदुलारी थारुले झण्डै २३ वर्ष श्रीमान फर्केर आउने आशैआशमा बिताइन् । २३ वर्ष बित्दा पनि वेपत्ता श्रीमानको सास आयो न लाश । रामदुलारीका ३८ वर्षीय श्रीमान टाटेराम थारुलाई २०५९ सालमा तत्कालिन शाही नेपाली सेनाले घरमा सुतिरहेको अवस्थामा सोधखोज गर्नुछ भनी लगेको थियो । त्यसयता टाटेराम घर फर्केनन् ।
श्रीमान फर्केर आउने आश कुर्दाकुर्दै आफनै सासै जान थालेपछि रामदुलारीले बाध्य भएर कुशको शब बनाइन् र श्रीमानको अन्तिम संस्कार गरिन् । अन्तिम संस्कार गर्दा भक्कानिदै उनले भनिन्, सरकारले आफ्नो श्रीमानको खोजी गरी सार्वजनिक गर्लाकि भन्ने आशमा २३ वर्ष बिताए । न सास आयो न लाश । बाध्य भएर आत्म सन्तोषका लागि कुशको शव बनाएर अन्तेष्टि गर्नु पर्यो ।
आफु पनि बृद्ध हुँदै गएको र सरकार प्रतिको आश र बिश्वास गुम्दै गएकाले आफनो परम्परा जोगाउन कुशको शव बनाएर श्रीमानको अन्तिम संस्कार गर्नु परेको रामदुलारीले सुनाइन् ।
कुशको शब बनाएर अन्तिम संस्कर गर्ने उनी मात्र होइनन् । सोनपुर गाउँकै हरिप्रसाद थारु र जंगु थारुको पनि उनीहरुको परिवारले कुशको शब बनाएर अन्तिम सस्ंकार गरेका छन् । सोनपुर गाउँबाटै २०५९ साउन महिनामा ६ जनालाई सेनाको टोलीले लगेको थियो । उनीहरुको अवस्था अझैसम्म पनि अज्ञात छ । ६ जना मध्ये ३ जनाको परिवारजनले कुशको शव बनाएर काजकिरिया गरेका छन् । बाँकीका परिवार पनि किरिया गर्ने तयारीमा छन् ।

लामो समय बित्दा पनि सरकारले श्रीमानको अवस्था सार्वजनिक नर्गदा सामाजिक तथा पारिवारिक संस्कार निर्वह गर्न बाध्य भएर कुशको शब बनाएर अन्तिम संस्कार गर्नु परेको जग्गु थारुकी श्रीमती फिरियाले सुनाएन् । उनले भनिन्, ‘वेपत्ता पारिएको यतीका वर्ष बित्दा पनि फर्केर नआउँदा आशाको त्यान्द्रो पनि टुट्यो । अनि संस्कार पुरा गर्न किरिया गरे ।’ सरकारले बेपत्ताहरुको अवस्था सार्वजनिक नर्गदा आफुहरुलाई सामाजिक संस्कार तथा परम्परा निर्वह गर्न अप्ठ्यारो भएको पिडित परिवारहरु बताउँछन् ।
श्रीमान जिउँदै फर्कने आश मरेको र श्रीमानको मृत्युदर्ता बनाउन नसक्दा चलअचल सम्पत्ति भोग चलन तथा सन्तानहरुको नाममा हस्तान्तरण गर्न कानुनी समस्या भोगी रहेकाले मृत्युदर्ता गराउनका लागि पनि अन्तिम संस्कार गर्न बाध्य भएको जग्गुकी श्रीमती फिरिया थारुले बताइन् । बेपत्ता पारिएकाहरु फर्केर आउने आश टुट्दै गएपछि परिवारजनले काजकिरिया गर्न थालेका छन् ।
बेपत्ताका परिवार मध्ये जिल्लामा हालसम्म ४० जना परिवारले अन्तिम संस्कार गरिसकेको द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागीराम थारुले जानकारी दिए । बर्दिया सशस्त्र द्वन्द्वका क्रममा मुलुककै सबैभन्दा बढी बेपत्ता पारिएको जिल्ला हो । बेपत्ता परिएका व्यक्तिहरुको तथ्याङ्कमा भने एकरुपता छैन । द्वन्द्वपीडित समितिको तथ्याङ्कमा २ सय ५० जना र बेपत्ता व्यक्ति छानविन आयोगको तथ्याङ्कमा २ सय ५४ जना ब्यक्ति सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएको तथ्याङ्क छ ।