रविको घोषणा: राज्यको यातना भोगेँ, अब पार्टी संरचनामा व्यापक सुधार ल्याउँछु

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी संरचनामा व्यापक सुधार (म्यासिभ रिफर्म) को घोषणा गरेका छन्। सोमबार वनस्थलीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकमा उनले राजनीतिक प्रतिशोधको पीडादायी अनुभव सुनाउँदै अब सङ्गठनलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

“राणा शासन र पञ्चायत झेलेनौँ, तर यो दौरान राज्यको राजनीतिक प्रतिशोध र यातनाको पीडा मैले भोगेँ। चितवनबाट मध्यरातमा त्रिशूलीतिर लगिँदा ज्यानको खतरा महसुस भयो, डायरी खोसियो र जलाएर नष्ट गरियो,” उनले भने। सरकारले सबै शक्ति आफूमाथि प्रहार गर्न प्रयोग गरेको आरोप लगाउँदै उनले गणतन्त्रलाई ‘ओली तन्त्र र देउवा तन्त्र’ नभई जनताको तन्त्र बनाउने उद्घोष गरे।

लामिछानेले संविधान र व्यवस्थामा सुधार आवश्यक रहेको बताउँदै यसको नेतृत्व रास्वपाले लिने दाबी गरे। “सङ्गठनमा भारी फेरबदल र पुनर्संरचना गर्नेछु, सबै तयार रहनुस्। १५ दिनभित्र लिखित सुझाव ल्याउनुस्, म २४ घण्टा खट्न र सयौँ किलोमिटर हिँड्न तयार छु,” उनले भने।

उनले पार्टी अवसर खोज्नेहरूको थलो नभई देश बनाउने अभियान भएको स्पष्ट पारे। साथै, राष्ट्रिय भेलाको घोषणाअनुसार प्रथम महाधिवेशन समयमै गर्ने निर्देशन दिए। उनले सङ्घर्षमा साथ दिने पार्टी सदस्य, शुभचिन्तक, अन्य दलका नेता र सञ्चारकर्मीप्रति आभार व्यक्त गरे। “नख्खुमा बाढीले चार नागरिकको उद्धार गर्न नसक्ने र तीनकुनेमा चार हजार सम्हाल्न नसक्ने सरकारले ममाथि शक्ति खन्याइरहेको छ,” उनले थपे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *