पुटिनले वाचा तोडे : जेलेन्स्की

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि वाचा तोडेको आरोप लगाएका छन् । पुटिनले युक्रेनी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा गरेको वाचा तोडेको जेलेन्स्कीको आरोप छ ।

‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्तापछि पुटिनले युक्रेनी उर्जा पूर्वाधारमा आक्रमण रोक्न आदेश दिने बताउनुभएको थियो । तर त्यही रात युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसले १ सय ५० वटा ड्रोन प्रहार गरिएको छ,’ जेलेन्स्कीले भनेका छन् ।

रुसले मंगलबार राति यातायात पूर्वाधार र अस्पतालमा पनि आक्रमण भएका जेलेन्स्कीको भनाइ छ । ‘पुटिनका शब्दहरू वास्तविकताभन्दा धेरै भिन्न छन्,’ जेलेन्स्कीले फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टबसँगको संयुक्त पत्रकार सम्मेलनमा भनेका छन् ।

युक्रेनले पनि आफ्नो एउटा तेल भण्डारण केन्द्रलाई निसाना बनाएको रुसी रक्षा मन्त्रालयले आरोप लगाएको छ । उक्त केन्द्रमा जानाजान आक्रमण गरिएको र युक्रेनी कदम उक्साहटपूर्ण भएको रुसले जनाएको छ ।

पुटिन र ट्रम्पबीच बुधबार करिब ९० मिनेट लामो टेलिफोन वार्ता भएको थियो । वार्ता ट्रम्पले युक्रेनमा ३० दिन युद्धविराम गर्न राखेको प्रस्ताव पुटिनले अस्वीकार गरेका थिए । तर उनले युक्रेनी ऊर्जा पूर्वाधारमा ३० दिन आक्रमण रोक्न सहमत भएका थिए । तर उक्त समयमा युक्रेनबाट थप सैन्य परिचालन वा हतियारको व्यवस्था गर्न नपाउने पुटिनको भनाइ छ ।

तर वार्ताको केही घण्टामा नै रुसी सेनाले युक्रेनका दुई अस्पतालमा आक्रमण गरेको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारीका अनुसार सुमी सहरको एक अस्पतालमा रुसले ड्रोन आक्रमण गरेको हो । बीबीसीका अनुसार आक्रमणको समयमा उक्त अस्पतालमा १ सय ४७ बिरामी र २२ कर्मचारीहरू थिए ।

त्यसको केही घण्टामा रुसले क्षेत्रीय सहर क्रास्नोपिल्याको अस्पतालमा ६ ड्रोन प्रहार गरेको हो ।युक्रेनी अधिकारीका अनुसार आक्रमणका बेला अस्पतालमा ४९ बिरामी र ११ कर्मचारी थिए । युक्रेनी अधिकारीहरूले आक्रमणका कारण अस्पतालमा भवनमा ठूलो क्षति पुगेको जनाएका छन् । तर मानवीय क्षति भने नभएको उनीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *