मधेसका मुख्यमन्त्री बने यस वर्षको ‘महामूर्ख’

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

२०८१ सालकाे महामूर्खको उपाधि मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ । मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष होली पर्वको अवसरमा आयोजना गर्ने गरेको महामूर्ख सम्मेलनमा एक विशिष्ट व्यक्तित्वलाई दिने महामुर्खको उपाधी मुख्यमन्त्री सिंहलाई प्रदान गरिएको हो । शुक्रबार जनकपुरधामस्थित राम मन्दिरको प्रांगणमा आयोजित महामूर्ख सम्मेलनमा उनलाई मिथिला नाट्य कला परिषद्ले महामूर्ख घोषणा गरेको हो ।

सिंहले मुख्यमन्त्रीको शपथ ग्रहण मैथिलीमा लिएको र मुख्यमन्त्री भएपछि स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानलाई सम्मान गर्दै उनलाई महामूर्खको पदवी दिइएको परिषद्का संयोजक समितिका संयोजक श्याम सुन्दर शशीले जानकारी दिए  । सोहि समारोहमा हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएबापत प्रदान गरिने अन्य १३ मान पदवीमा यस वर्ष पटमुर्खको उपाधि सियाराम सरणलाई र हराशंखको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहलाई प्रदान गरियाे  ।

त्यसैगरि लोहाशंकरको उपाधि रामरिझन यादव, गणपसारैनको उपाधि सीता देवी कर्ण, मनतोरियाको उपाधि डा. पिंकी मण्डल, पवित्रपापीको उपाधि अधिवक्ता विमलकुमार मिश्र र सोटाचन्द्रको उपाधि प्राध्यानाध्यापक कृष्णचन्द्र चौधरीलाई प्रदान गरियाे  ।

यसका आलावा बज्रकीटको उपाधि अरविन्दलाल कर्ण, डपौरशंखको उपाधि नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ता, खेसारीलालको उपाधि जनकपुरधाम व्यापार संघका अध्यक्ष सुरेन्द्र भण्डारी, खपसुरताको उपाधि डा. रामविनय चौधरी, तरघुसको उपाधि कुमार भाष्कर र बालवोधको उपाधि राजेशकुमार मिश्रलाई प्रदान गरिएको छ ।

होलीका अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन देशैभरि प्रसिद्ध छ । मिथिला क्षेत्रको सांस्कृतिक अभियानमा अग्रणी भूमिका खेलेको दाबी गर्ने मिथिला नाट्य कला परिषद् (मिनाप) यसका आयोजक हुन् । मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एकजनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न १५ प्रकारका व्यंग्यात्मक पदवीबाट समाजिक सम्मान गर्ने चलन छ ।जुन मिथिला क्षेत्रमा चर्चित छ । मिथिला नाट्य कला परिषद्को भनाइलाई यदि सत्य मान्ने हो भने विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई वर्षैपिच्छे छनोट गरेर यो पदवीबाट सामाजिक सम्मान दिने चलन छ ।

आपसी भाइचाराका रूपमा लिइएको होली पर्वलाई जनकपुरधाममा हिन्दूसँगै मुस्लिम युवाहरूले पनि सँगै मिलेर होली मनाएर आपसी सौहार्दताको परिचय दिँदै आएका छन् । मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होली गीत गाउन सुरु गरिन्छ । तर, अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले विगत २९-३० वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ ।

मैथिली साहित्य परिषद् वीरगञ्जले २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलो पटकको महामूर्ख लाला माधवेन्द्र जी भएका थिए  । विसं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो । गत २०८० को महामूर्खको उपाधि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *