पाकिस्तानमा रेल अपहरण : १०४ बन्धक उद्धार, ३० सैनिक मारिएको दाबी

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य
बलुच लिबरेशन आर्मी (बीएलए) ले मंगलबार बलुचिस्तानको बोलान पासमा क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेल अपहरण गरेको छ।

दैनिक भास्करका अनुसार बीएलएले रेलको ट्र्याकमा विस्फोट गरी सुरुङमा रोकेर २१४ यात्रुलाई बन्धक बनाएको दाबी गरेको छ। उनीहरूले ३० सैनिकको हत्या गरेको र आफ्ना लडाकुहरूको रिहाइका लागि सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको बताएका छन्। सैन्य कारबाही भए सबै बन्धक मार्ने धम्की पनि दिएका छन्।

पाकिस्तानी सुरक्षा बलले जारी भिडन्तमा १६ विद्रोही मारिएको जानकारी दिएका छन्। एआरवाई न्यूजका अनुसार सेनाले १०४ बन्धक (५८ पुरुष, ३१ महिला र १५ बालबालिका) लाई उद्धार गरेको छ। सुरक्षा स्रोतले आतंककारीहरूले महिला र बालबालिकालाई मानव ढाल बनाएकोले उद्धार जटिल भएको बताएका छन्। आक्रमणमा चालक गम्भीर घाइते भएका छन्। १७ यात्रुलाई अस्पताल भर्ना गरिएको छ।

सुरक्षा बलले आतंककारीहरूलाई घेरेर गोलीबारी जारी राखेको छ। पाँच सय यात्रु सवार रेल नियन्त्रणमा लिएको बीएलएले गैरसैनिक यात्रु रिहा गरेको दाबी गरे पनि यो पुष्टि भएको छैन। पहाडी भूभाग र बन्धकहरूको सुरक्षालाई ध्यानमा राख्दै अभियान जारी राखेको सेनाले जनाएको छ।

बलुच लिबरेशन आर्मी (बीएलए) बलुचिस्तानमा सक्रिय एक सैन्य समूह हो, जसले स्वतन्त्र बलुचिस्तानको माग राख्दै आएको छ। उक्त समूहले पाकिस्तान सरकारमाथि प्राकृतिक स्रोतको शोषण र स्थानीय बासिन्दामाथि अन्याय गरेको आरोप लगाउँदै आएको छ। पाकिस्तानले सन् २००६ मा बीएलएलाई आतंकवादी संगठन घोषित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *