दुई मुलुकबिचको सम्बन्धमा सुधार भइरहेको सम्बन्धमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभले रुसी र अमेरिकी कूटनीतिज्ञहरू आज इस्तानबुलमा आफ्ना दूतावासहरूसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न भेट गर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार सम्हालेपछि अमेरिकी विदेश नीतिलाई पूर्णतः परिवर्तन गरेकाे र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गर्दै तीन वर्षभन्दा बढी समयमा पहिलो पटक मस्कोसँग उच्चस्तरीय वार्ता सुरु गरेका थिए ।
अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनमा दुवै देशले एक अर्काबाट दूतावासका कर्मचारीहरूलाई निष्कासन गरेपछि पछिल्लो बैठक कूटनीतिक मुद्दाहरूको समाधानमा केन्द्रित हुनेछ । “त्यस्तो बैठक भाेलि बिहिवार इस्तानबुलमा हुनेछ । मलाई लाग्छ कि यसको परिणामले हामी कति छिटो र प्रभावकारी रूपमा अगाडि बढ्न सक्छौँ भनेर देखाउनेछ”, विदेशमन्त्री लाभरोभले कतारको भ्रमणमा बुधबार भने ।
लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबिच फेब्रुअरी १८ मा साउदी अरबको राजधानी रियादमा भेट भएको थियो । त्यहाँ उनिहरू युक्रेनबिना नै युक्रेन युद्धबारे वार्ता सुरु गर्न सहमत भएका थिए । त्यसयता दुवै पक्ष युक्रेनलाई एक किनारमा राखेर नजिक आएका छन् । गत बुधबार ट्रम्पले आफ्ना युक्रेनी समकक्षीलाई ‘तानाशाह’ भनेर युद्ध अन्त्य गर्न ‘छिटो अघि बढ्न’ आह्वान गरेका थिए ।
तीन वर्षअघि मस्कोले आफ्नो छिमेकीमाथि गरेको आक्रमणको निन्दा गर्नबाट बच्न संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घमा सोमबार दुई पटक रुसको पक्षमा मतदान गरेको थियो ।