ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली छात्राको शंकास्पद मृत्यु र त्यसपछि नेपालीविद्यार्थीमाथि गरिएको दमनलाई लिएर भारतमा संसद्देखि सडकसम्म विरोध चलिरहेको छ।घटनाअनुसन्धान र न्यायको माग गर्दै राजनीतिक दल, विभिन्न संगठन, मिडिया र नागरिक तहले आवाज उठाइरहेका छन् ।
विपक्षी दल राष्ट्रिय कंग्रेसनिकट युवा तथा विद्यार्थीले केआईआईटीको मुख्य ढोकासामु शनिबार विरोध प्रदर्शन गरेर विश्वविद्यालय संस्थापक अच्युत सामन्तको पुतला जलाएका छन् । ओडिसाको विधानसभामा विपक्षी बीजू जनता दल र कंग्रेसले घटनाको न्यायिक छानबिनको माग गरिरहेका छन् । सत्तारूढ भाजपाका सांसदले पनि घटनाको निन्दा गरेका छन् । सबै प्रमुख दलका सांसदले उक्त घटनाका कारण ओडिसा मात्रै नभएर भारत नै लज्जित हुनुपरेको बताएका छन् ।
बीजूका सदस्य गणेश्वर बोहरा र सत्तारूढ भाजपाका सदस्य बाबु सिंहले विश्वविद्यालयका संस्थापक अच्युत सामन्तलाई घटनाको जिम्मेवार बनाएर पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग उठाएका छन् । काग्रेसका वरिष्ठ नेता ताराप्रसाद बाहिनीपतिले नेपालविरुद्ध अपमानजनक टिप्पणी गरेकी महिला कर्मचारीलाई पनि पक्राउ गरी अनुसन्धान गर्नुपर्ने बताए ।
