काठमाडौं । फिल्म ‘बलिदान’का निर्माताले ‘प्रोडक्सन भ्यालु’लाई बलियो तुल्याउन प्रयत्न गरेको देखिएको छ । ‘लार्जर देन लाइफ’मा शैलीमा जोड दिने निर्देशक सन्तोष सेनले छायांकन भइरहेको एक्सन फिल्मको प्रप्समा यस्तै गरेका छन् ।
अहिले भारतको कोलकाताबाट ४२ फिट अग्लो कालीको मूर्तिलाई इटहरी ल्याएर छायांकन भइरहेको छ । भारतीय कालीगढले निर्माण गरेको उक्त मूर्ति क्लाइमेक्स दृश्यका लागि प्रयोग भइरहेको जनाइएको छ ।
मूर्ति राखेपछि मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानलाई भने यसले नयाँ पहिचान दिएको छ । छायांकन नसकिंदै ‘कालीचौर’का रूपमा परिचित यो स्थान चर्चामा आएको छ । यस क्षेत्रमा निर्माण गरिएको मञ्च र २०० भन्दा बढी स्टलले स्थानीयलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै एउटा मिनी बजार सञ्चालनमा ल्याएको निर्देशकले जनाए ।
सेनका अनुसार छायांकन करिब टुंगिने तयारीमा छ । छायांकन सकिएपछि प्रदर्शन मिति घोषणा गरिने उनले बताए । एक्सन दृश्यलाई रोमाञ्चक बनाउन दक्षिण भारतीय एक्सन कोरियोग्राफर स्टन्डर सामको नेतृत्वमा ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको छ ।
राजनीतिक कथावस्तुमा निर्माण भइरहेको यो फिल्मको शीर्ष भूमिकामा ‘१२ गाउँ’ फेम्ड समीर भट्ट छन् । सेनको ‘आसुसेन फिल्म्स प्रालिको प्रस्तुति रहेको फिल्ममा पवन ब्राडफोर्ड विस्ट निर्माता र प्रेम पुरी सहनिर्माता छन् ।