विश्व ध्यान दिवसः आज नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाउँदै

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् ।

डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ ।

राष्ट्रसङ्घले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् ।

नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ । यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसन अन्तर्गतका ध्यान केन्द्र, ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा आज बिहानको रुद्राभिषेक पछि ८ः४५ बजे सामूहिक ध्यानको आयोजना हुने फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले जानकारी दिए ।

यसैगरी जीवन विज्ञान, पतञ्जली संस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी विश्व ध्यान दिवस मनाउने जनाएको छ ।

ध्यानलाई  अभिन्न अङ्गका रूपमा अपनाऔँ : प्रधानमन्त्री ओली

यसै अवसरमा एक सन्देश दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मानव जातिको कल्याणका निम्ति भएको बताएका छन्। दिवसको अवसरमा आज श्रव्य दृश्य माध्यमबाट शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गरे ।

संयुक्त राष्ट्र सङ्घले २१ डिसेम्बरलाई ध्यान दिवसका रूपमा मान्यता दिएकामा उनले खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्,  “यस अवसरमा म खुसी व्यक्त गर्न चाहन्छु । सबैमा बधाई भन्न चाहन्छु । शुभकामना भन्न चाहन्छु । यस ध्यान दिवसको हामी सबैले सदुपयोग गरौँ । यसबाट लाभ लिऔँ ।”

ध्यान मानव जातिको कल्याणका निम्ति भएको बताउँदै प्रधानमन्त्रीले बर्सेनि यस दिवसलाई मनाउँदै जान अनुरोधसमेत गरे । “वर्षमा एक पल्ट २१ डिसेम्बरमा मात्रै होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्गका रूपमा अपनाऔँ”, उनले भनेका छन  ।
मानव जाति शारीरिक र मानसिक हिसाबले सधैँ स्वस्थ रहनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले अरूलाई पनि स्वस्थ रहन सहयोग पुर्‍याउनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *