भानुआटुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

पोर्ट भिला (भानुआटु), पुस २ गते । प्रशान्त राष्ट्र भानुआटुमा मङ्गलबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पले राजधानी पोर्ट भिलामा भवनहरू ध्वस्त भएका छन् र यसमा विदेशी दूतावासहरूले प्रयोग गरेको भवन पनि समावेश छ । एक प्रत्यक्षदर्शीले एएफपीलाई सहरमा शवहरू देखिएको बताए ।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार ७.३ म्याग्निच्युडको भूकम्प ५७ किलोमिटरको गहिराइमा भानुआटुको मुख्य टापु एफेटको तटबाट करिब ३० किलोमिटर टाढा स्थानीय समयानुसार दिउँसो १२ः४७ बजे गएको थियो ।

केही मिनेटपछि ५.५ म्याग्निच्युडको पराकम्प आएको थियो । त्यसपछि ससाना कम्पनहरू आए । भूकम्पले तीन लाख २० हजार जनसङ्ख्या भएको कम–उचाइको यो द्वीप समूहलाई भूकम्प–संवेदनशील प्रशान्त रिम अफ फायरमा हल्लायो ।

पोर्ट भिलामा अमेरिका, फ्रान्स, बेलायत, अस्ट्रेलिया र न्युजिल्यान्डको कूटनीतिक मिशनद्वारा प्रयोग गरिने चार तले कङ्क्रिट भवनको भुइँ तला पूरै भत्किएको एएफपीका फोटोहरूले देखाएका छन् ।

अमेरिकी र फ्रान्सेली दूतावासका कर्मचारीहरू सुरक्षित रहेका दुवै मुलुकले बताएका छन् । अमेरिकाले अर्को सूचना नआउन्जेलसम्म आफ्नो दूतावास बन्द गरेको छ । फ्रान्सले आफ्नो मिशन ‘नष्ट’ भएको बतायो ।

“सहरका भवनहरूमा मानिसहरू छन् । हामी त्यहाँबाट हिँड्दा त्यहाँ शवहरू थिए”, सामाजिक सञ्जालमा विनाशका तस्बिर पोस्ट गरेपछि स्थानीय बासिन्दा माइकल थम्पसनले स्याटेलाइट फोनबाट भने , “एउटा सडकमा भएको भूस्खलनले एउटा बसलाई ढाकेको थियो, त्यसैले त्यहाँ स्पष्ट रूपमा केही मृत्यु छन् ।”

थम्पसनले कूटनीतिक भवनको भुइँ तला ध्वस्त हुनुका साथै भूकम्पले कम्तीमा दुईवटा पुल पनि खसाएको र अन्य भवनहरू पनि भत्किएको बताए ।

पूर्ण रूपमा समतल

“दूतावास भवनको तल्लो तल्ला अब अस्तित्वमा छैन”, भानुआटुमा जिपलाइन साहसिक व्यवसाय चलाउने थम्पसनले भने , “यो पूर्ण रूपमा समतल छ । माथिका तीन तला अझै पनि छन् तर तिनीहरू खसेका छन् । यदि त्यस समयमा त्यहाँ कोही थिए भने तिनीहरू गइसकेका छन् ।”

सार्वजनिक टेलिभिजन भिबिटिसी तस्बिरहरूले देखाएअनुसार भूकम्पमा घाइते भएका केही व्यक्तिलाई फ्ल्याट–बेड ट्रकमा पोर्ट भिला अस्पतालमा लगिएको थियो । अस्पतालमा अरूलाई बाहिर स्ट्रेचरमा राखिएको थियो वा प्लास्टिकको कुर्सीमा बसेका थिए, उनीहरूको हात र टाउको पट्टीले बाँधिएको थियो ।

एएफपीद्वारा प्रमाणित तस्बिरहरूले अन्तर्राष्ट्रिय ढुवानी टर्मिनलमाथि ठाडो पहाडबाट हजारौँ टन माटो र ठूला चट्टानहरू खसेको देखाएका छन् । बन्दरगाह भवनहरूमा क्षति देखिएको थिएन ।

क्वान्टास, जेटस्टार, भर्जिन अस्ट्रेलिया र फिजी एयरवेज जस्ता अस्ट्रेलिया र अन्य क्षेत्रीय एयरलाइन्सले सम्भावित सुविधा र धावनमार्गमा क्षतिको रिपोर्टका कारण उडानहरू परिवर्तन वा स्थगित गरेका छन् ।

भूकम्पले प्रशान्त टापुका अधिकांश मोबाइल नेटवर्कहरू बन्द गरेको थम्पसनले बताए  ।भूकम्प पछि सुनामी चेतावनी जारी गरिएको थियो र भानुआटुका केही क्षेत्रका लागि एक मिटरसम्मको छालहरूको पूर्वानुमान गरिएको थियो तर यसलाई प्रशान्त सुनामी चेतावनी केन्द्रले चाँडै हटाएको थियो ।

वार्षिक विश्व जोखिम प्रतिवेदनअनुसार भानुआटु भूकम्प, आँधीबेहरीको क्षति, बाढी र सुनामी जस्ता प्राकृतिक प्रकोपका लागि सबैभन्दा बढी संवेदनशील देशहरू मध्ये एक हो । रासस, एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *