सुदूरपश्चिम पहाडमा हिमपात, जनजीवन प्रभावित

अर्थ शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो ।

उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए । बैतडीसँगै, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।
हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको हुदा खुसीयाली छाएको हो ।

हुम्लामा यस वर्ष पहिलोपटक हिमपात

हुम्ला । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात  सुरु भएको हो ।

humla snow (1)

आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इन्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए । यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् ।

humla snow (2)

हुम्लीवासीले हिमपातपछि मौसम ठिक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् ।

हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ ।

दार्चुलामा  पनि हिमपात र वर्षा

दार्चुलामा हिमपात र वर्षा
दार्चुला । दार्चुलाको उच्च पहाडी भेगमा आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै जिल्लाको विभिन्न क्षेत्रमा हिमपात भएको छ ।

दार्चुलाको अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो । ब्यास र अपिहिमाल गाउँपालिकामा हिमपात हुँदा जिल्लामा चिसो बढेको छ ।

हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको अपिहिमाल गाउँपालिकाका स्थानीय कमला बोहराले जानकारी दिए ।

त्यस्तै, जिल्लाको खण्डेश्वरी, राप्ला, घुसालगायत क्षेत्रमा हिमपात भएको छ । त्यसैगरी जिल्लाका विभिन्न ठाउँमा हल्का वर्षा भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *