जलपक्षी प्रजातिका दुई आकर्षक चराहरू कलहाँस र सिउरे डुबुल्कीचरा जाडो छल्न काठमाडौंको टौदहमा पहिलोपटक आइपुगेका छन्।
कलहाँस जलपक्षी परिवारको ठूलो हाँस हो। मुख्यतः कलहाँसले युरोपका आइसल्यान्ड, नर्वे, स्वीडेन, फिनल्याण्ड, पोल्याण्ड, युनाइटेड किंगडम, जर्मनीजस्ता देशहरूमा प्रजनन गर्छ। यी पक्षी प्रायः शाकाहारी भए पनि घाँसपात, गहुँ, जौ, अनाजसँगै कहिलेकाहीँ साना माछा, उभयचर र कीराहरू पनि खाने गर्छन्।
त्यस्तै, सिउरे डुबुल्कीचरा युरोप, एसिया, अफ्रिकाको दक्षिणी तथा पूर्वी भाग, अष्ट्रेलिया, र न्यूजिल्यान्डजस्ता देशहरूमा पाइन्छ। ताजा पानीका ताल, बग्ने नदी र वनस्पतिले ढाकिएका दलदलमा प्रजनन गर्ने यी पक्षी मांसाहारी हुन्। माछा, कीरा र साना भ्यागुताहरू यिनको मुख्य आहार हो।