अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी अधिकारीहरुले शान्ति वार्तामा प्रगति भइरहेको जानकारी दिएपछि सोमबार नयाँ कारोबार सुरु हुँदा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको छ । पश्चिम एशिया क्षेत्रमा तनाव कम हुने र आपूर्ति अवरोध घट्ने चर्चासँगै मूल्य घटेको हो ।
सोमबार एक समय वेस्ट टेक्सास कच्चा तेल घटेर ९१.२५ अमेरिकी डलरमा कारोबार भयो । जो झन्डै ५.५३ प्रतिशतको गिरावट हो । त्यस्तै ब्रेन्ट कच्चा तेल पनि एक समय ९७.९७ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भयो । जो, ५.३८ प्रतिशतले कम हो ।
आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँगको शान्ति सम्झौता धेरै हदसम्म टुंगिएको र अन्तिम सम्झौता गर्नमात्रै बाँकी रहेको बताएका थिए । उनले यसका लागि अमेरिका, इरान तथा मध्यपूर्वका अन्य देशहरूबीच अझै छलफल हुने बताएका थिए ।
प्रस्तावित योजनाअनुसार ६० दिनको युद्धविराम विस्तार, हर्मुज जलडमरूमध्य पुनः खोल्ने, इरानलाई पुनः तेल बिक्री गर्न दिने र इरानको आणविक कार्यक्रमबारे वार्ता गर्ने विषय समावेश छ । इरानले हर्मुज जलमार्ग पुनः खोल्ने कदम अघि बढाएमा अमेरिका आणविक कार्यक्रमसम्बन्धी गम्भीर वार्तामा प्रवेश गर्न तयार रहेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन् ।
यसैबीच इरानको इस्लामिक रिभोलुशनरी गार्डले पछिल्लो २४ घण्टामा ३३ वटा जहाज हर्मुज जलमार्ग पार गरेको जानकारी दिएको छ, जसले उक्त मार्ग आंशिक रूपमा सञ्चालनमा रहेको सङ्केत गर्दछ ।
ऊर्जा विश्लेषकहरूका अनुसार युद्धअघि जस्तो आपूर्ति चाँडै सामान्य अवस्थामा फर्कन कठिन छ, किनभने उत्पादन संरचनामा क्षति, केही क्षेत्रमा उत्पादन अवरोध र ढुवानी समस्याहरू अझै पूर्ण रूपमा समाधान भएका छैनन् ।
