राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपाका केन्द्रीय उपसभापति तथा पूर्वमन्त्री डिपी अर्यालले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधको लागि अनावश्यक रुपमा दुःख दिएको आरोप लगाएका छन्।
नेपालमा वैकल्पिक राजनीतिक शक्ति र नयाँ सोच भएका युवाहरूलाई प्रहार भइरहेकोले यसतर्फ युवा जमत सचेत हुनुपर्ने आवश्यकता उनले औंल्याए। भक्तपुरमा शनिबार भएको पार्टीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अन्य कुनै कारण नभई नयाँ शक्तिलाई नष्ट गर्न सरकार लागिपरेको आरोप उनको छ।
सो अवसरमा पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अहिलेका मुख्य राजनीतिक दलले देश बिगारेको आरोप लगाए। परियारले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दल सिद्धान्त बमोजिम नचलेको हुनाले देश अहिलेको अवस्थामा पुगेको बताए। नेपालमा वैकल्पिक शक्तिको रुपमा नातावाद, कृपावाद र परिवारवाद भन्दा माथि उठेर रास्वपा अस्तित्वमा आएको उनको दाबी छ ।
संसदीय दलका उपनेता तथा पूर्वमन्त्री विराजभक्त श्रेष्ठले पार्टीका नेता कार्यकर्ताहरू ढुङ्गामुढा नगरीकन राजनीतिमा आएको बताए। पार्टी सभापतिलाई सरकारले साँधेको प्रतिरोधप्रति सचेत रहन आह्वान गर्दै निरन्तर शान्तिपूर्ण बाटोमार्फत भ्रष्टाचार र कुशासनको विरोध गर्न श्रेष्ठले आग्रह छ।