भैरहवा — दोहाबाट कतार एयरवेज, बैंककबाट एयर एसिया, दुबईबाट फ्लाई दुबई, कुवेतबाट जजिरा तथा नेपाल एयरलाइन्सले अहिले भैरहवाबाट उडान सुरु गरेका छन् । कुनै समय असान्दर्भिक हुन लागेको भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल गुल्जार बनेको छ, स्थानीय व्यवसायी पनि उत्साहित छन् ।
काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल विस्तार हुन लागेकाले उडान कटौती भएको अवस्थामा भैरहवा सरेका एयरलाइन्सको सेवा दीर्घकालीन हुन्छ/हुन्न भन्नेमा भैरहवाका व्यवसायीको चासो छ । त्यस्तै, श्रम स्वीकृति, मेडिकल जाँच, भिसा, कार्गो, क्वारेन्टाइन जस्ता सेवा भैरहवामा नहुँदा श्रमिक तथा व्यवसायीलाई काठमाडौं नै धाउनुपर्ने बाध्यता पनि छँदै छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा साना–ठूला सवारी साधनको घुइँचो छ । यात्रुको स्वागत तथा बिदाइका लागि आएका आफन्त र सुरक्षाकर्मीको ओहोरदोहोरले विमानस्थल व्यस्त बनेको छ । फ्लाई दुबई र कतार एयरवेजका जहाज प्रत्येक दिन दिउँसो अवतरण गर्छन् । एयर एसिया, जजिरा र नेपाल एयरलाइन्सले पनि उडान गरेका छन् । ठूला जहाज अवतरण/उडान गरेको अवलोकन गर्न भैरहवा–लुम्बिनी सडक किनारमा सर्वसाधारणको पनि भीड लाग्छ ।
भैरहवा विमानस्थलबाट नियमित उडान भइरहँदा रूपन्देही र आसपासमा आर्थिक गतिविधि बढ्ने विश्वासमा निजी क्षेत्र उत्साहित छ । विमानस्थल निर्माणसँगै पर्यटक बढ्ने विश्वासमा धेरै उद्योगी, व्यवसायीले होटल र रेस्टुरेन्टमा लगानी गरेका छन् । विमानस्थल उद्घाटनपछि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा धेरै व्यवसायी निराश बनेका थिए । धेरै होटल अधुरै छाडिएका थिए । एकैपटक पाँच वटा वायुसेवाका जहाज भैरहवा आउन थालेपछि लगानीकर्ता पुनः जुर्मुराएका छन् । उनीहरूले अधुरै छाडेका होटलको निर्माणलाई निरन्तरता दिएका छन् ।
बुद्ध जयन्तीका अवसर पारेर २०७९ जेठ २ मा विमानस्थल सञ्चालनमा आएको थियो । विमानस्थल उद्घाटनसँगै कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान थालेको थियो ।
थाइल्यान्डको थाई एयर एसियाले भैरहवामा गत नोभेम्बर ३ (कात्तिक १९) मा पहिलो उडान गरेको हो । त्यो दिन थाई एयर एसियाको विमान यात्रुविहीन फर्किएको थियो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार त्यसपछि थाई एयर एसियाको विमान यात्रुविहीन हुनुपरेन । अहिलेसम्म थाई एयर एसियाको विमान यहाँ ४ पटक अवतरण भयो । दोस्रो पटक यहाँबाट उडान भर्दा ३२ यात्रु लिएर फर्किएको थियो । तेस्रो पटक ७९ र चौथो पटक ९४ यात्रु लिएर फर्कियो । ‘आउने/जाने गरेर थाई एयर एसियामार्फत अहिलेसम्म २ सय ३४ ले यात्रा गरिसके,’ तिवारीले भने, ‘उडानको प्रचार भएपछि यात्रु आउन थालेका छन् ।’ थाई एयर एसियाले सातामा एक दिन उडान गरिरहेको छ ।
थाई एयर एसिया र जजिराले आफ्नो मुलुकबाट भैरहवा सिधा उडान गर्छन् । अन्य वायुसेवा कम्पनीले भैरहवालाई ‘ट्रान्जिट’ बनाएका छन् । वायुसेवालाई आकर्षण गर्न यहाँबाट ‘ट्रान्जिट’ उडानको व्यवस्था मिलाइएको तिवारीले बताए । ‘यहाँ ट्रान्जिट बनाएर उड्न पाउने अधिकार स्थापित भयो,’ उनले भने । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई दैनिक उडान गर्छ । फ्लाई दुबईले २६ पटक उडान/अवतरण गरेको छ । यसक्रममा ४ सय ६० यात्रुले भैरहवाबाट ओहोरदोहोर गरेका छन् । भैरहवा हुँदै काठमाडौं जाने यात्रु १ हजार ४ सय ६१ थिए ।
कतार एयरवेजको जहाजले यहाँ २० पटक उडान/अवतरण गरिसकेको छ । यस अवधिमा ३३ यात्रुले भैरहवाबाट ओहोरदोहोर गरेका छन् । कतार एयरवेजबाट भैरहवा हुँदै काठमाडौं जाने यात्रुको संख्या ६ सय ४३ रहेको छ । ‘कतार एयरवेजको वाइडबडी जहाज भैरहवा अवतरण गर्नु नै खुसीको कुरा हो,’ तिवारीले भने, ‘वाइडबडी अवतरण हुने भएपछि हामीले त्यसअनुसारका उपकरण र सुविधा थप्न पायौं ।’ कतार एयरवेजका कारण गौतमबुद्ध विमानस्थलको प्रचारप्रसारमा मद्दत पुगेको उनले बताए । कतार एयरवेजले पनि यहाँबाट दैनिक उडान गरिरहेको छ ।
नेपाल एयरलाइन्सले यहाँबाट १२ पटक उडान/अवतरण गरेको छ । यस अवधिमा जम्मा ८ यात्रु भैरहवा आएका छन् । भैरहवा हुँदै काठमाडौं जाने यात्रुको संख्या ९ सय २१ रहेको छ । नेपाल एयरलाइन्सले आइतबार, सोमबार, बुधबार र शुक्रबार काठमाडौं–भैरहवा–दुबई उडान गरिरहेको छ । नेपाल एयरलाइन्सको जहाज काठमाडौंबाट राति १०ः२० बजे भैरहवा अवतरण गरेर आधा घण्टापछि दुबई उड्ने गरेको छ ।
जाडोयाम सुरु भएसँगै यहाँ जहाजको उडान/अवतरणमा भने समस्या देखिन थालेको छ । बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि आन्तरिक र बाह्य उडान प्रभावित भइरहेका छन् । विमानस्थल उद्घाटनसँगै यहाँबाट उडान थालेको कुवेतको जजिरा एयरवेजले पनि जाडोयाममा प्राविधिक कारण देखाउँदै सेवा स्थगन गरेको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजिबिलिटी’को समस्या हल गर्न ‘इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस)’ उपकरण जडान गरिएको छ । ‘आईएलएस’ को प्रयोगले सुरक्षा प्रभाव पर्ने जनाउँदै भारतले आपत्ति जनाएपछि त्यसको प्रयोग हुन सकेको छैन । यस्तो अवस्थामा कम ‘भिजिबिलिटी’मा जहाजलाई उडान/अवतरण गराउन विमानस्थल व्यवस्थाले भूउपग्रहमा आधारित अवतरण प्रणाली (आरएनपी–एआर) प्रस्ताव गरेको छ । आगामी डिसेम्बरसम्म यसबारे निर्णय हुने महाप्रबन्धक तिवारीले जानकारी दिए । उनका अनुसार ‘आरएनपी’ प्रणाली जडान भएका जहाजलाई अवतरणका लागि भुइँमा उपकरण जरुरी पर्दैन । ‘आरएनपी–एआरका लागि विशेष अवतरण विधि जरुरी छ,’ तिवारीले भने, ‘पाइलटले तालिम लिनुपर्छ, नियमनकारी निकायको अनुमति चाहिन्छ, परीक्षण उडान गर्नुपर्छ ।’
तिवारीका अनुसार ‘आईएलएस’ प्रविधिमा उडान/अवतरणका लागि ८ सय मिटर ‘भिजिबिलिटी’ जरुरी हुन्छ । ‘आरएनपी–एआर’ प्रविधि जडान भएका विमानले ७००/८०० मिटर ‘भिजिबिलिटी’मा अवतरण गर्न सक्छन् । ‘त्यसैले आरएनपी–एआर प्रविधिलाई विकल्पमा प्रस्ताव गरिएको हो,’ तिवारीले भने ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पाँच वायुसेवा कम्पनीले केही सातादेखि नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । तर घुम्न र रोजगारीका लागि विदेश जानेले भने सहजै भैरहवाबाट विमान चढ्ने अवस्था छैन । त्यसका लागि आवश्यक्र प्रक्रिया पूरा गर्न संघीय राजधानी काठमाडौं धाउनैपर्ने बाध्यता छ ।
भैरहवामा स्वास्थ्य जाँच, म्यानपावर, भिसा सेन्टरलगायतका कार्यालय अहिलेसम्म स्थापना गरिएका छैनन् । यहाँका लगानीकर्ता, पर्यटन व्यवसायी र ट्राभल कम्पनीले साढे दुई वर्षदेखि बिदेसिन चाहिने आधारभूत प्रक्रिया पूरा गर्ने कार्यालय स्थापनाको माग गर्दै आएका छन् । ‘विदेश जाने प्रक्रियाका लागि चाहिने सबै कार्यालय स्थापना भइसक्नुपर्थ्यो । अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँमा यस्ता कार्यालय स्थापनाको माग गर्नुपर्ने विषय होइन, तर अहिलेसम्म माग गरिरहेका छौं,’ रूपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले भने ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई वर्षअघि विमानस्थल उद्घाटन गरेका थिए । उद्घाटनलगत्तै भैरहवामा श्रम स्वीकृति सहज तुल्याउन कार्यालय स्थापना गरिएको थियो । उक्त कार्यालय नाम मात्रको भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताउँछन् । तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक पर्ने कार्यालय सञ्चालन नभएसम्म भैरहवाबाट भइरहेको अन्तर्राष्ट्रिय उडानमा यात्रु अभाव हुने बताउँछन् । ‘अहिलेकै अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो रूपमा सञ्चालन हुनेमा शंकै छ,’ उनले भने ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबाट उत्साहित निजी क्षेत्रले रूपन्देही र आसपासमा पर्यटनलगायत पूर्वाधार तयार गर्न एक खर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् । ‘विमानस्थल उद्घाटन हुँदा उत्साहित थियौं,’ श्रेष्ठले भने, ‘तर त्यो उत्साह धेरै दिन टिकेन । अन्तर्राष्ट्रिय उडान सुरु गरेका वायुसेवाले प्राविधिक कारण देखाएर उडान स्थगन गरे ।’ उनका अनुसार श्रम, स्वास्थ्य परीक्षण, अभिमुखीकरण र भिसा सेन्टरका शाखा यहाँ नखुलेका कारण यात्रु पनि आकर्षित हुन सकेनन् । पहिलो पटक श्रम स्वीकृति लिनुपर्नेले काठमाडौं नै पुग्नुपर्ने बाध्यता रहेको उनले बताए । श्रम स्वीकृति नवीकरण भने अनलाइनबाट हुन्छ । ‘यहाँबाट उड्न चाहने विद्यार्थीले एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) का लागि काठमाडौं पुग्नुपर्छ,’ उनले भने, ‘सबै काम काठमाडौंबाट गर्नुपर्ने भएपछि जहाज चढ्न मात्रै मान्छे किन आउँछन् ?’
लामो स्थगनपछि गत कात्तिक १९ देखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भइरहेको छ । यस पटक धेरै वायुसेवाले उडान थाले पनि तिनले निरन्तरता दिनेमा यहाँका सरोकारवाला सशंकित छन् । त्यसैले विमानस्थल दिगो रूपमा सञ्चालन हुने वातावरण तयार गर्न उनीहरूले छलफल थालेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघले शनिबार बिहान गरेको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक, रूपन्देहीका विभिन्न पालिका प्रमुख, लुम्बिनी विकास कोषका उपाध्यक्ष र निजी क्षेत्रका प्रतिनिधि सहभागी थिए ।
सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विदेश जानका लागि सरकारी कागजात बनाउन काठमाडौं जानुपर्ने बाध्यता जतिसक्दो छिटो अन्त्य गरिनुपर्ने बताए । ‘आवश्यक कार्यालयहरू भैरहवामा सञ्चालन नगरिँदा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गरिन्जेल मात्र यहाँबाट उडान गरिएको हो कि भन्ने आशंका उब्जिएको छ,’ उनले भने ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय उडान भइसक्दा पनि आधारभूत पूर्वाधारमा अल्झिनुपर्ने अवस्था आउनु दुःखद् भएको बताए । ‘एक सातामा हल हुने कुरामा सरकार अल्झिरहेको छ,’ उनले भने, ‘मन्त्रालयले निर्णय गर्नासाथ आवश्यक कार्यालय भैरहवा आउँछन्, त्यसका लागि पहल हुनुपर्यो ।’
भैरहवाबाट धेरै विमानले उडान गरिरहेकाले निजी क्षेत्रले पनि विमान कम्पनीको व्यापार बढाउन सकारात्मक रूपमा सहयोग गर्नुपर्ने उनको भनाइ थियो । काठमाडौंको विमानस्थल मर्मत भइरहेकाले जहाज यहाँ आएका हुन् भन्ने बुझाइ त्याग्न उनले अनुरोध गरे । ‘काठमाडौंको विमानस्थल मर्मत सकिएपछि विमान फर्किन्छन् भन्ने मानसिकताले काम नगरौं,’ उनले भने, ‘यहाँका प्रत्येक व्यक्तिले विमानस्थल चलाउन सकारात्मक भूमिका खेलेको अवस्थामा सरकार पनि बाध्य हुन्छ ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवा र पोखरास्थित विमानस्थल सञ्चालनका लागि गत साउनमा कार्ययोजना बनाएको थियो । कार्ययोजनाअनुसार श्रम तथा रोजगार मन्त्रालयले विमानस्थल सञ्चालनका लागि श्रम, मेडिकल, भिसालगायत सेवा दिने कार्यालय सञ्चालन गर्ने जनाएको थियो । श्रम तथा रोजगार मन्त्रालयको वेबसाइटमा राखिएको सयदिने उपलब्धिअन्तर्गत भैरहवा र पोखराबाट श्रम स्वीकृति र सबै प्रदेशमा वैदेशिक रोजगार र इजाजतपत्रवालाको शाखा स्थापना गरिएको उल्लेख छ ।
‘विमानस्थल सञ्चालनका लागि आवश्यक कार्यालय स्थापनाका लागि गत साउनमै कार्ययोजना पास गरिएको हो,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले भने, ‘सम्बन्धित मन्त्रालयका प्रतिनिधि बोलाएर तत्काल समीक्षा बैठक गर्दै कार्यालय सञ्चालनको पहल गर्छु ।’ महिनामा दुई पटक भैरहवामै बसेर भए पनि विमानस्थलको दिगो सञ्चालनका लागि लागिपर्ने उनको प्रतिबद्धता थियो ।
विमानस्थलमा प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा प्रहरीलाई तैनाथ गरिएको छ । विमानस्थल सुरक्षाको जिम्मेवारीमा सेना खटिएको छ । भन्सार, अध्यागमन, राष्ट्रिय अनुसन्धान, पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी, वाणिज्य बैंकलगायत कार्यालय सञ्चालनमा छन् । विमानस्थलमा इन्धनका लागि पहिल्यै आयल निगमको डिपो रहेको थियो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि डिपोको स्तरोन्नति गरिएको छ । विमानस्थल परिसरमा पार्किङ व्यवस्थित गरिएको छ । ‘हेल्थ डेस्क’ सञ्चालनमा छ ।
नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङको जिम्मा लिएको छ । संघीय अर्थमन्त्री विष्णु पौडेलले विमानस्थल राम्रोसित चल्ने बताए । ‘कतिपयले विमानस्थल बनाउनु हुँदैन भन्थे, बनाउने निर्णय भयो, धेरैले बन्दैन भन्थे, ढिलो भए पनि निर्माण भयो,’ उनले भने, ‘बनिसकेपछि चल्दैन भन्थे, अहिले चल्न थालेको छ । अझै राम्रोसँग चल्दैन भनेको सुनिन्छ । तर, राम्रोसँग चल्छ, बाधा पन्छाउँदै चल्छ ।’
साभार : कान्तिपुर दैनिक