साउदी अरबका केही स्थानमा भारी वर्षा र हिमपात भएको छ । देशको अल–जाफ मरुभूमिमा इतिहासमै पहिलाे पटक हिमपात भएको छ । भारी वर्षा र असिनापछि हिमपात भएको हो । यसलाई यस क्षेत्रको मौसममा ठूलो परिवर्तन मानिएको छ ।
हिमपातपछि अल–जाफ मरुभूमि आश्चर्यजनकरूपमा जाडो भूमिमा परिणत भएको छ । साउदी प्रेस एजेन्सीका अनुसार, यसअघि अल–जाफमा हिमपात भएको कहिल्यै देखिएको थिएन । साउदीको यस घटनाले मौसमविद्हरू नै आश्चर्यमा परेका छन् ।
साउदी अरेबियाले गत हप्तादेखि असामान्य मौसमको सामना गरिरहेको छ । गत बुधबार अल–जाफका केही भागमा भारी वर्षा र असिनाले क्षति पुर्याएको थियो । त्यसपछि उत्तरी सीमा, रियाद र मक्का क्षेत्रमा पनि पानी परेको थियो ।
कसरी भयो मरुभूमिमा हिमपात ?
साउदी अरबमा हिमपात दुर्लभ हो । तर, देशको मौसम बर्सौंदेखि परिवर्तन भइरहेको छ । केही वर्षअघि जलमग्न सहारा मरुभूमिमा तापक्रममा नाटकीय गिरावट आएको थियो, जुन माइनस २ डिग्री सेल्सियससम्म पुगेको थियो । यसका लागि जलवायु परिवर्तनको व्यापक प्रभावलाई जिम्मेवार मानिएको छ ।
बदलिँदो वायुमण्डलीय अवस्थाका कारण मरुभूमिमा हिमपातजस्ता असामान्य घटना भइरहेको विज्ञहरू बताउँछन् । यस वर्षको सुरुमा साउदी अरेबियाको राजधानी रियादमा अभूतपूर्व वर्षापछि ठूलो बाढी आएको थियो । दुबईले पनि यस्तै बाढीको सामना गर्यो, जुन यस क्षेत्रका लागि नयाँ अनुभव थियो ।
एजेन्सीहरूको सहयोगमा ।