प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक उपाय अपनाएर भए पनि काठमाडौँ–तराई-मधेश द्रूतमार्गलाई सम्पन्न गर्नुपर्ने बताएका छन् ।
आज सामाजिक सञ्जालमार्फत उनले उक्त सडकले काठमाडौँलाई एक घण्टामै तराईसँग जोड्ने भएकाले वैकल्पिक उपाय अपनाएर भए पनि उक्त सडकलाई सम्पन्न गर्नुपर्ने बताएका हुन ।
“द्रूतमार्गको खोकना–डुकुछाप खण्डको निर्माणमा उत्पन्न भएका समस्याबारे हिजो राति गहन छलफल भयो । खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिन्छ । वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नुपर्ने छ । । हामीसँग धेरै समय छैन, त्यसैले उपयुक्त उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु”, प्रधानमन्त्री ओलीले लेखेका छन् ।
उनले काठमाडौँ–तराई, मधेश द्रूतमार्ग मुलुकको रणनैतिक महत्त्वको सडक आयोजना भएकाले नेपाली सेनाले निर्माण गरिरहेको उल्लेख गरेका छन् ।
