बिपी राजमार्गमा तीन विकल्प

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

असोज १० देखि १३ गतेसम्मको भीषण वर्षापछि बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माण गर्न तीन वटा विकल्प प्रस्ताव गरिएको छ । बाढीपहिरोले राजमार्गका विभिन्न स्थानमा करिब १२ किलोमिटर सडकखण्ड क्षति पुर्‍याएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालका अनुसार अलि उच्च पुल (भायडक) निर्माण गर्ने, दोस्रो विकल्पमा अहिले भएको पहाडको भित्तो खोस्रिने (भित्तातर्फ नयाँ ट्र्याक खन्ने) र तेस्रो विकल्पमा जमिन सतहबाट माथिसम्म भित्ता उठाएर सडक निर्माण गर्ने गरी छलफल भइरहेको छ ।

उनले तीन विकल्पका अप्ठ्याराबारे व्याख्या गर्दै पहिलो विकल्प अनुसार उच्च पुल निर्माण धेरै महँगो पर्ने, दोस्रो विकल्प अनुसार भित्तो खोस्रिँदा बाढीले बगाएर लाने सम्भावना रहेको बताए । मन्त्री दाहालले लागत र सजिलोको दृष्टिले जमिन सतहबाट भित्ता उठाएर सडक निर्माण गर्नु नै अहिलेको अवस्थामा उचित विकल्प हुन सक्ने बताउदै भने, “उचित विकल्प देखिए पनि अहिलेसम्म निष्कर्षमा पुग्न सकिएको छैन । यस विकल्पबारे पनि अहिले अध्ययन भइरहेको छ ।”

जापानको चासो

मन्त्री दाहालका अनुसार बिपी राजमार्ग पुनर्निर्माणका लागि जापान सरकारले पनि चासो देखाएको छ । उनले राजमार्गको क्षतिग्रस्त खण्डको निरीक्षण गर्न जापानी प्राविधिकहरू नेपाल आउन लागेको जानकारी दिए । उनले जापानबाट प्राविधिक आएर स्थलगत अध्ययन गरेपछि मात्रै थप प्रक्रियाबारे भन्न सकिने बताउदै  भने, “बाढीपहिरोबाट सडक पूर्वाधारमा मात्रै करिब साढे छ अर्ब रुपियाँभन्दा बढी क्षति पुगेको छ । क्षति पुगेका संरचनाको पुनर्निर्माण गर्न करिब १५ अर्ब रुपियाँ खर्च हुने अनुमान छ । जसमध्ये बिपी राजमार्गको पुनर्निर्माणमा मात्र सात अर्ब रुपियाँ खर्च हुने देखिएको छ ।”

उनले राजमार्गहरूको पुनर्निर्माणका लागि बजेटको व्यवस्थापनबारे अहिलेसम्म टुङ्गो नलागेको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँसँग नेपालको पूर्वी क्षेत्र जोड्ने छोटो बाटो बिपी राजमार्ग पुनर्निर्माणका सम्बन्धमा असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग शिष्टाचार भेट गरी सहयोगबारे छलफल गरेका थिए । २०७२ सालमा जापानी सहयोग नियोगमार्फत उक्त राजमार्ग जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको १.१ बिलियन (जापानी येन) को लागतमा निर्माण गरिएको हो ।

धुलिखेल–सिन्धुली–बर्दीबाससम्म सो राजमार्गको कुल लम्बाइ १६० किलोमिटर छ । तीन दशकअघि सो राजमार्ग निर्माण गर्दा प्रति किमी ३५ करोड रुपियाँ लागत थियो । अहिले निर्माण खर्च प्रतिकिलोमिटर ५० करोड रुपियाँभन्दा बढी हुने अनुमान छ ।

मन्त्री दाहालले बिपी राजमार्ग जापानकै सहयोगमा निर्माण भएकाले पुनर्निर्माण गर्न चाहे सरकारले सकारात्मक रूपमा लिने बताए । उनले भने, “जापानले बनाइदिएको सडक भएकाले अहिले पनि उनिहरू आउँदै छन । सडकको अवस्था बुझेर पुनर्निर्माण गर्छौं भन्ने प्रस्ताव आए हामी स्वीकार गर्छौं । उनिहरूले नबनाए सरकारी स्रोतबाटै निर्माण हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *