अरुण काबेली पावर लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । साधारण सभाले काबेली इनर्जी लिमिटेडले निर्माण गरिरहेको ३७.६० मेगावाटको काबेली-ए जलविद्युत आयोजनाको शेयरमा गरेको लगानी अनुमोदन गरेको छ। साथै कम्पनीले आर्थिक वर्ष २०८०/८१ शेयरधनीहरुलाई निष्कासन गरेको १:१ हकप्रद शेयरबाट प्राप्त रकम मध्ये रु. १२० करोड काबेली-ए जलविद्युत आयोजनामा लगानी गर्ने निणर्य समेत गरेको छ। आयोजनाको भौतिक निर्माण २०८१ असोज १५ सम्ममा ५३ प्रतिशत पुगेको कम्पनीले बताएकाे छ ।
कम्पनीका अध्यक्ष रमेशप्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/०८१ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरण लगायतका निणयहरू गरेकाेछ ।
अरुण काबेली पावर लिमिटेडले कोशी प्रदेशको पाँचथर र ताप्लेजुङ जिल्ला बिच भई बग्ने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बी-१ जलविद्युत परियोजना निर्माण सम्पन्न गरी २०७६ कार्तिक बाट व्यवसायीक उत्पादन गरिरहेको छ। अविरल वर्षापछि आएको बाढीले २०८० असारमा परियोजनाको बाँध र पेनस्टक पाईप लाईनमा क्षति पुगेको कारण करिब सात महिना विद्युत उत्पादन अवरुद्ध हुन पुगेको सभामा जानकारी दिइएको छ। समीक्षा आर्थिक वर्षमा विद्युत बिक्रीबाट रु. १९ करोड ६७ लाख प्राप्त गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अध्यक्ष न्यौपानेले दुवै आयोजनाको संचालनबाट शेयरधनिहरुलाई आगामी वर्ष लाभांश प्रदान गर्ने विश्वास व्यक्त गदै जलविद्युत आयोजनालाई नाफादायी बनाउनका लागि बहुउद्देश्यीय योजना अनुसार परियोजना स्थलमा कफी खेती , तरकारी खेती,फलफूल खेती , वस्तुपालन लगायतका व्यवस्था गरेर स्थानियहरू काे आम्दानी वृद्धि गरिएको बताए ।