इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न भएका छन् । राष्ट्रपति ट्रम्पले इजरायल र हमासबीच यसै हप्ता ‘सम्झौता’ हुने आशा व्यक्त गरेका छन् ।
इजरायल र हमासबीच आइतबार साँझ दोहामा अप्रत्यक्ष वार्ता सुरु भएको छ । यसको उद्देश्य युद्धविरामको मध्यस्थता गर्नु र प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूको रिहाइको लागि सम्झौतामा पुग्नु रहनेछ । आइतबार ट्रम्पले सम्झौतामा पुग्ने ‘प्रवल सम्भावना’ रहेको बताएका थिए ।
‘हामीले धेरै बन्धकहरूलाई रिहा गरेका छौँ, बाँकी बन्धकहरूको सन्दर्भमा भन्नुपर्दा तिनीहरूमध्ये धेरै बाहिर आउनेछन्,’ उनले पत्रकारहरूसँग भने । नेतान्याहूले आइतबार विमानमा वासिङ्टनतर्फ प्रस्थान गर्नुअघि बोल्दै ट्रम्पसँगको भेटले यो सम्झौतालाई अगाडि बढाउन निश्चित रुपमा सहयोग पुग्ने बताएका थिए ।
‘महत्वपूर्ण अभियान’
वार्तामा संलग्न दुई प्यालेस्टिनी स्रोतले एएफपीलाई बताएअनुसार उक्त प्रस्तावमा ६० दिनको युद्धविराम, हमासले इजरायलद्वारा हिरासतमा लिएका प्यालेस्टिनीहरूको बदलामा १० जीवित बन्धकहरू र मतक बन्धकका शवहरू रिहा गर्ने लगायतका विषय छन् ।
समूहले गाजाबाट इजरायलको फिर्तासहित केही सर्तहरू राखेको छ । वार्ताको क्रममा लडाईं पुनः सुरु नगर्न ग्यारेन्टी र संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा सहायता वितरण प्रणालीलाई पुनः सुरु गनमाग पनि गरिरहेको छ ।
इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आइतबार नेतान्याहूसँगको भेटपछि भने, ‘नेतान्याहूको वासिङ्टनमा एउटा ‘महत्वपूर्ण अभियान’ छ, जसले हाम्रा सबै बन्धकहरूलाई घर फर्काउने सम्झौतालाई अगाडि बढाइरहेको छ ।’
सन् २०२३ मा भएको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूले बन्धक बनाएका २५१ मध्ये ४९ जना अझै गाजामा रहेका छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले पुष्टि गरेको छ ।
