सप्तकोशी नदीमा डल्फिनमा नयाँ रेकर्ड पाइएको छ । डल्फिनको संख्या कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बढेर २२ पुगेको छ । कोशी नदीमा गरिएको चारदिने डल्फिन गणनामा १५ वयस्क, ५ अर्धवयस्क र २ बच्चा डल्फिन फेला परेका हुन् । चैत १५ देखि १८ सम्मको गणनाबाट कोशी नदी तथा आरक्ष क्षेत्रमा डल्फिन गणना गरिएको हो । जसको नतिजा बिहीबार सार्वजनिक गर्दै कोशी नदीमा २२ वटा डल्फिन रहेको जनाएको हो ।
यहाँ पछिल्लो पटक सन् २०२३ मा डल्फिन गणना गरिएको थियो । जहाँ १९ वटा डल्फिन गणना भएको थियो। २०२४ मा भने धेरै बाढी आएका कारण डल्फिन गणना गरिएको थिएन । सन् २०१२ मा ११, सन् २०१७ मा १७ वटा डल्फिन देखिएका थिए । त्यसपछि आरक्षले डल्फिनको संरक्षणमा प्राथमिकता दिएको हो । त्यसपछि वार्षिक गणनाको अभ्यास थालिएको आरक्षले जनाएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षले २०२२ मा १७ डल्फिन तथा २०२३ मा १९ वटा डल्फिनको गणना गरेको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार डल्फिनको संख्या यो वर्ष वृद्धि हुनु संरक्षणको दृष्टिले सकारात्मक मानिएको छ । कोशीटप्पु वन्यजन्तु आरक्ष, भीमकाली गुल्म, राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्र, हिमाली प्रकृति, कोशी बर्ड अब्जरभेटरीको सहभागितामा डल्फिन गणना गरिएको गौतमले जानकारी दिए ।
गणना कार्यमा १८ जनाभन्दा बढी स्वयंसेवक, गणक तथा विज्ञहरूको सहभागिता रहेको उनले बताए । पछिल्लो समय डल्फिन संरक्षण चुनौती बन्दै गएकोसमेत उनको भनाइ छ । नदीमा बाँध र अन्य जलविद्युत् परियोजना निर्माण गर्दा डल्फिनहरूको प्राकृतिक आवास खण्डित हुँदै गएको छ । अवैध रूपमा माछा मार्ने क्रममा प्रयोग गरिने विषादी र विस्फोटक पदार्थहरूले डल्फिनको जीवनमा खतरा उत्पन्न गरेको गौतम बताउँछन् ।
डल्फिन बाढीको समयमा पानीको बहाव कम हुने क्षेत्रमा जान्छन्’, उनी भन्छन्, ‘कोशी ब्यारेजभन्दा माथिल्लो तटीय क्षेत्रमा डल्फिनले राम्ररी चहलपहल गर्न पाएका छैनन् । ’cause तल्लो तटीय क्षेत्रबाट माथिल्लो तटीय क्षेत्रमा आउने उपयुक्त संरचना छैन ।’
डल्फिनको सिकार र तस्करी हुनबाट बचाउन पनि चुनौती रहेकाले यस’bout थप प्रशिक्षण एवम् जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ छ । कोशीमा बाढीको समयमा देख्न मुस्किल परे पनि हिउँद लागेपछि विचरण गरिरहेको डल्फिन हेर्न भारतीय पर्यटकसमेत आउने गरेका छन् ।
कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार नेपालको पहिलो रामसार सूचीमा सूचीकृत कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको कोशी नदी तथा आसपासको बाढी भू–भागमा डल्फिनसहित विभिन्न जलचर वन्यजन्तुको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ ।
‘हालै सम्पन्न चारदिने वैज्ञानिक गणनामा २२ वटा डल्फिन र ४३५ वटा जलचर वन्यजन्तुहरू रेकर्ड भएका छन्,’ यादवले भने, ‘डल्फिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित स्तनधारी जनावर हो, जुन संकटापन्न सूचीमा समेत पर्छ। चैत १५ देखि १८ गतेसम्म सम्पन्न गणनामा १५ वयस्क, ५ अर्धवयस्क र २ बच्चा गरी २२ वटा डल्फिन भेटिएको छ ।’
आरक्ष कार्यालयका अनुसार यसपटक गणनामा अन्य महत्वपूर्ण जलचर प्रजातिहरू पनि रेकर्ड भएका छन् । जसमा मगरगोही, विभिन्न प्रजातिका माछाहरू, कछुवा, विभिन्न किसिमका पानीचराहरू, स्याल, साङ्लो, बन बिरालो, पानीहाँस, गैंडा लगायतका वन्यजन्तुहरू समावेश छन् ।
जलचर वन्यजन्तुको संरक्षणका लागि आरक्ष क्षेत्रमा जनचेतना अभियानसहित सरसफाइ, नदीको बहाव व्यवस्थापन, विषादी नियन्त्रण, जैविक विविधता अध्ययन, र सामुदायिक सहभागितामा आधारित कार्यक्रमहरू सञ्चालन भइरहेको यादवले बताए ।
संरक्षण अधिकृत यादवका अनुसार प्रदूषण, नदी दोहन, अवैध सिकार, आहाराको कमी, तथा बसोबासको संकटका कारण डल्फिनजस्ता स्तनधारी जलजन्तुहरू जोखिममा परिरहेका छन् ।
नेपालमा डल्फिन मुख्यतः सप्तकोशी र कर्णाली नदी क्षेत्रमा पाइन्छ । हाल नेपालमा १०० भन्दा कम डल्फिन रहेको अनुमान गरिएको बताइएको छ । संरक्षणमा सुधार नभएमा भविष्यमा यसको अस्तित्व गम्भीर संकटमा पर्ने खतरा रहेको विज्ञहरूले बताउँदै आएका छन् ।
डल्फिनले १० देखि १७ महिनासम्ममा बच्चा जन्माउँछ। गंगेटिक डल्फिनले १० देखि ११ महिनामा बच्चा जन्माउँछ । डल्फिनले जन्मिएको दुई वर्षसम्म आमासँगै रहने र दूधपान गर्ने गरेको अध्ययनहरूले देखाएका छन् । डल्फिनको मनपर्ने आहारा सानो प्रजातिको माछा हो । नेपालमा भने सप्तकोशीसहित कर्णाली, नारायणी र मोहना नदीमा डल्फिन पाइन्छन् ।
खासगरी कोशीटप्पु वन्यजन्तु आरक्षको यो पछिल्लो तथ्यांक डल्फिन लगायत जलचर वन्यजन्तुको संरक्षणमा आशा जगाउने खालको छ । तर दीर्घकालीन संरक्षणका लागि वैज्ञानिक अनुगमन, जनचेतना, नीति निर्माण, र समुदायको सक्रिय सहभागिता अझै सशक्त रूपमा आवश्यक छ ।
