गुजरात प्लेअफमा पुग्ने पहिलो टोली

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

साई सुदर्शन र शुबमन गिलले सानदार ओपनिङ गरेपछि गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दिल्ली क्यापिटल्सलाई १० विकेटले पराजित गरी प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । यी दुईको प्रदर्शनमा गुजरातले २ सय रनको लक्ष्य १९ ओभरमै २ सय ५ रन बनाउँदै पूरा गरेको थियो । सुदर्शन ६१ बलमा १ सय ८ र कप्तान गिल ५३ बलमा ९३ रन बनाई अविजित रहे । सुदर्शनले १२ चौका र ४ छक्का तथा गिलले ३ चौका र ७ छक्का प्रहार गरे ।

यसअघि केएल राहुल तीन फरक फ्रेन्चाइज टिमबाट आईपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए । यसअघि उनले पञ्जाब र लखनउ सुपर जायन्ट्सबाट पनि शतक बनाएका थिए । उनले ६५ बलमा अविजित १ सय १२ रन बनाएपछि दिल्लीले १९९–३ को स्कोर बनाएको थियो । उनले १४ चौका र ४ छक्का प्रहार गरे ।आफ्नो इनिङ्स दौरान राहुलले ट्वान्टी–२० क्रिकेटमा ८ हजार रन पूरा गरेका थिए । उनले २ सय २४ इनिङ्समा यो आँकडा छोएका हुन् । उनीभन्दा चाँडो क्रिस गेल २ सय १३ र बाबर आजमले २ सय १८ इनिङ्समा ८ हजार रन पूरा गरेका थिए ।

तर दिल्लीको सुरुआत त्यस्तो थिएन । मोहम्मद सिराज र अर्सद खानले पहिलो ४ ओभरमा दिल्लीलाई आच्छु–आच्छु पार्दै १५ डट बल फालेका थिए । ओपनर फाफ डु प्लेसिसले १० बलमा ५ रन मात्र बनाउन सके । ५ ओभरमा दिल्लीले १ विकेट गुमाई २८ रन मात्र बनाउन सकेको थियो । पावर प्लेको अन्तिम ओभरमा राहुलले कागिसो राबाडालाई २ छक्का र १ चौका प्रहार गर्दै काउन्टर दिएका थिए । अभिषेक पोरेल १९ बलमा ३०, कप्तान अक्षर पटेल १६ बलमा २५ रन बनाई आउट भए । ट्रिस्टन स्टब्स १० बलमा २ छक्का प्रहार गरी २१ रनमा अविजित रहे ।

दिल्लीको हारले रोयल च्यालेन्जर्स बेङलुरु (आरसीबी) र पञ्जाब किंग्सको पनि प्लेअफमा स्थान सुरक्षित भएको छ । गुजरात १८ अंकसहित शीर्ष स्थानमा छ भने आरसीबी र पञ्जाबको समान १७ अंक छ । मुम्बई इन्डियन्सको १४ र दिल्लीको १३ अंक छ ।

पञ्जाबको रबाफ

पञ्जाब किंग्सले आइतबारको पहिलो खेलमा राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको थियो । देब्रेहाते नेहल वाधेराले ३७ बलमा ७० रन बनाएपछि टस जितेर ब्याटिङ रोजेको पञ्जाबले जयपुरमा २१९–५ को स्कोर बनाएको थियो । शशांक सिंहले अविजित ५९ रन बनाएपछि पञ्जाबको स्कोर मतबुत बनेको थियो ।

प्रियांश अर्या ९, मिचेल ओवेन शून्य, प्रभसिमरन सिंह २१ रनमा आउट भए । कप्तान श्रेयस ऐरले २५ बल खेली ५ चौकासहित ३० रन बनाए । वाधेराले समान ५ चौका र छक्का प्रहार गरे । पञ्जाबले अन्तिम ४ ओभरमा ६० रन जोडेको थियो । शशांकले ३० बलको इनिङ्समा ५ चौका र ३ छक्का प्रहार गरे । अजमतुल्लाह ओमारजाईले ९ बलमा ३ चौका र १ छक्का प्रहार गरी अविजित २१ रन बनाए । राजस्थानका तुसार देशपान्डेले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए ।

ओमारजाईले महत्त्वपूर्ण २ विकेट लिएपछि यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको राजस्थानले ७ विकेट गुमाई २ सय ९ रन मात्र बनाउन सक्यो । ‘इम्प्याक्ट’ खेलाडीका रूपमा आएका देब्रेहाते स्पिनर हरप्रित ब्रारले २२ रन खर्चेर ३ विकेट लिए । राजस्थानलाई अन्तिम ओभरमा जितका लागि २२ रन चाहिने अवस्थामा मार्को यान्सेनले लगातार बलमा ध्रुव जिरेल र वानिन्दु हसरंगालाई आउट गरेका थिए ।

जिरेलले राजस्थानबाट सर्वाधिक ५३ रन बनाए । उनले ३१ बल खेली ३ चौका र ४ छक्का प्रहार गरे । यशस्वी जैसवाल र वैभव सूर्यवंशीले ५ ओभरभित्र ७६ रन जोडेर राजस्थानलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । सूर्यवंशीले १५ बल खेली समान ४ चौका र छक्का प्रहार गरी ४० रन बनाए । जैसवालले २५ बल खेली ९ चौका र १ छक्कासहित ५० रन जोडे । टोलीमा फर्किएका कप्तान सञ्जु सामसन १६ बलमा २० र रियान पराग ११ बलमा १३ रन बनाई आउट भए ।

पञ्जाब र रोयल च्यालेन्जर्स बेङलुरु १२ खेलपछि समान १७ अंकसहित पहिलो दुई स्थानमा छ । राम्रो रन रेटका आधारमा बेङलुरु शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *