कोदारी–तातोपानी सडक एक साताका लागि बन्द

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

कोदारी सडकअन्तर्गत कोप्लाङ खण्ड भासिएपछि मर्मतसम्भार गर्न हिजाे वैशाख २८ देखि आगामी जेठ ३ सम्मका लागी बन्द गरिएको छ । सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, भोटेकोशी गाउँपालिका, तातोपानी भन्सार कार्यालय, नाकामा आबद्ध विभिन्न ट्रान्सपोर्ट कम्पनीको संयुक्त बैठकले उक्त निर्णय गरेर सडक मर्मत थालिएको हो ।

एक साताअघिको सामान्य वर्षाले कोप्लाङ सडक भासिएको थियो । स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन कार्यालयले भासिएको सडकमा माटो हालेर उकास्ने काम गरे पनि पुनः बगेपछि एक साता बन्द गरेर दीर्घकालीन रूपमा सडक मर्मत गर्न हाे  भोटेकोशी नदीको जगबाटै ढलान उठाएर सडक मर्मत गर्न थालिएको छ । नदीबाट करिब ५० मिटर उचाइमा प्लम्ब ढलान लगाउन थालिएको छ । शिव खिम्ती र टिपिएस जेभीले भासिएको सडक उठाउन ढलानको काम गरिरहेका छन् ।

एक साताअघिबाट कोप्लाङ सडकखण्ड भासिन थालेको थियो । त्यसयता तातोपानी नाकाबाट राजधानी आउन लागेका मालवाहक कन्टेनर तथा यात्रुवाहक साधन पूर्ण रूपमा बन्द छन् । सडक अवरुद्ध भएपछि तातोपानी भन्सार कार्यालयमा जाँचपास भएका र चीनबागामीट खासा आइपुगेका कन्टेनर उतै रोकिएका छन् । भन्सारका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेका अनुसार स्याउ, लसुन बोकेका ४० भन्दा बढी मालवाहक कन्टेनर, पाँच सयभन्दा बढी विद्युतीय गाडी भन्सार यार्डमै रोकिएका छन् । एक सयभन्दा बढी कन्टेनर खासामा नै रोकिएका छन् ।

अलपत्र अवस्थामा रहेका विद्युतीय गाडी र मालवाहक कन्टेनर राजधानी पठाउन वैकल्पिक मार्गसमेत छैन । सोही सडकखण्डको माथिल्लो भाग कटान गरेर सडक निर्माण गर्ने अवस्था पनि छैन । सडकमाथिको सबै भाग पहिरो बग्ने क्षेत्रमा पर्दछ । भासिएकै सडकबाट कन्टेनर र अन्य सवारीसाधान ओहोरदोहोर गरेमा मानवीय र भौतिक क्षति हुन सक्ने जोखिमलाई ध्यान दिँदै एक हप्ता बन्द गरेर सडक उठाउने काम थालिएको सडक डिभिजन कार्यालय चरीकोटका सूचना अधिकृत सुरज महर्जनले बताए  ।

अबको एक साता सडक बन्द गरेर भोटेकोशी नदीको जगैबाट प्लम्ब ढलानमार्फत सडक उठाउने कार्य भइरहे पनि एक हप्तामा उक्त सडक उठाउन सम्भव छैन । त्यसपछि पनि केही हप्ता सडक बन्द गर्नुपर्ने अवस्था देखिएको छ । त्यसले गर्दा भन्सार यार्डमा रोकिएका उपभोग्य वस्तु कुहिएर खेर जाने अवस्था छ । अन्तर्राष्ट्रिय नाका जोड्ने एक मात्रै कोदारी सडकको अवस्था बर्साैंदेखि बिग्रिएकै अवस्थामा छ । मितेरी पुल, लिपिङ सडक, कोदारी खण्ड, तातोपानी, १० किलो खण्ड, डाक्लाङ, झिर्पु, बसेरी, खाग्दल, जम्बु, शिरिसे, खोर्सानीबारी सडकखण्ड जीर्ण र दयनीय अवस्थामा छन् । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले उक्त सडकलाई  थिल थिलो बनाएको थियाे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *