रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –१० तिमीलेमा स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो दाङबाट कुलपूजा गर्न रुकुमपश्चिम आएर फर्कनेक्रममा लुप्र ०२–००१ च ०१७७ नम्बरको स्कार्पियो दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार दुर्घटनामा परेर सानीभेरी गाउँपालिका –१० घर भई हाल दाङको तुल्सीपुरमा बस्दै आएका ५० वर्षीय नरबहादुर ओली र उनको श्रीमती ४४ वर्षीया लिला ओलीको मृत्यु भएको हो । नरबहादुरको घटनास्थलमै मृत्यु भएको हो भने उनको श्रीमतीको उपचारको लागि चौरजहारी अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परेका अन्य दुई जना गम्भीर घाइते छन् । घाइते हुनेमा मृतक ओलीको आमा ६० वर्षीया रुद्री ओली र चालक दाङको तुलसीपर उपमहानगरपालिका ७ बस्ने ४४ वर्षिय लिलामणी भण्डारी रहेको प्रहरीले जनाएको छ । उनिहरूलाई उपचारको लागि अहिले चौरजहारी अस्पतालमा लगिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानका क्रममा ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । गाडी सडकबाट करिव पाँचसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
बस पल्टिँदा आठजना घाइते
सुनसरीको कोशी गाउँपालिका –७ हरिपुरमा गुडिरहेको बस अनियन्त्रित भएर पल्टिँदा आठ जना घाइते भएका छन् । २० जना सवार बस सडकमा पल्टिँदा भएको दुर्घटनामा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सोमबार विहान सवारी दुर्घटना हुँदा पाँच वर्षीया बालिकासहित आठजना घाइते भएका हुन् ।
कोशी गाउँपालिका ७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा गाईघाटबाट झापातर्फ जादैगरेको प्रदेश–१–०२–००१ख९९३६ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।
प्रहरीले दिएको जानकारीअनुसार सुनसरीको कोशी गाउँपालिका –८ का महमद सहिलको ५ वर्षीय छोरा वानेस मियाँ, सोही ठाउँका २५ वर्षीया रुक्साना खातुन, सबरुम खातुन, निलम रामको निधार, दायाबाँया खुट्टामा चोट लागेको छ । त्यसैगरी इनरुवा नगरपालिका ९ का ४५ वर्षीय गुलाबचन्द्र मेहेता, बराहक्षेत्र ११ का २१ वर्षीय प्रमोद ऋषिदेव, कोशी गापा वडा ८ का हुसिय मन्सुरीको छोरा रहन मन्सुरी, छोरी वर्ष १.५ वर्षका रोना खातुन समेत घाइते छन् ।
सबैको हात, खुट्टा र टाउको, निधारमा चोट लागेको जनाएको छ । यसैबिच बसधनी सप्तरी कञ्चनरुप नगरपालिका –९ का ३५ वर्षीय बिन्देश्वरप्रसाद दासले घाइतेहरुको उपचारमा सहयोग गरेका छन् ।
इलाका प्रहरी कार्यालय भाण्टाबारीका प्रहरी बरिष्ठ नायव निरीक्षक पूण्य अधिकारीका अनुसार आठ जनालाई बढी चोट लागेको छ । उनिहरुको उपचार अस्पतालमा भइरहेको छ ।
